काठमाडौँ, वैशाख १९ / आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘बाह्र वर्षपछि’ बजारमा आएको छ । डायस्पोरिक भावको उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको प्याकुरेलको नवीनतम् कृति हो ।
लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएका प्याकुरेल नेपाली साहित्यमा पूर्णकालीन लेखकको रुपमा साधनारत छन् । मूलतः आख्यानमा कलम चलाउने प्याकुरेलको ‘बाह्र वर्षपछि’ दोस्रो उपन्यास हो । यसअघि उनको उबर उपन्यास प्रकाशित भइसकेको छ ।
यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए ।
उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ । विदेशी भूमिबाट नेपाल आउँदा एक पात्रले देखेको नेपाल र यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको छ । एक नेपाली बाह्र वर्षपछि नेपाल आउँदा कस्तो अनुभव गर्छ र कस्ता कस्ता पात्र भेट्छ भन्ने विषयलाई उपन्यासले कलात्मक शेलीमा प्रस्तुत गरेको छ ।
उपन्यासको मुख्य परिवेशमा नेपाली समाजको वर्तमान अवस्था नै हो । नेपालको शहरीदेखि ग्रामीण परिवेश हुँदै अमेरिकासम्म फैलिएको यसको परिवेशले पाठकलाई चुम्बकीय रुपमा तानिरहन्छ ।
विगतमा नेपाली समाजले भोगेको सशस्त्र द्वन्द्व र त्यसपछिको नेपाली समाजलाई त्यसले पारेको प्रभाव र परिणतिलाई उपन्यासले पक्रन खोजेको छ । मूलतः उपन्यासमा एक नेपाली बाह्र वर्षपछि नेपाल आउँदा उसले देखे भोगेको सामाजिक यथार्थलाई उपन्यासले मूल विषय बनाएको छ । सरल सरस र कलात्मक भाषा शैलीका कारण उपन्यास पठनीय बनेको छ ।
अमेरिकी भूमितिर पलायन भएको पात्र नेपाल आएर चिनेका पात्रहरुलाई भेट्दा पनि तर्सिने र अनौठो मान्ने अवस्थामा हुन्छ । सोही पात्रमार्फत उपन्यासकारले समाजमा देखेका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गरेका छन् ।
अमेरिकी समाजमा अभ्यस्त भइसकेको पात्र नेपालमा आएर सामाजिक दैनिकी बिताउनुभन्दा आत्मकेन्द्रित भई दैनिकी बिताउँछ । नेपालको सामाजिक यथार्थलाई वास्तै नगरी अमेरिकन शैलीमा चलेको पात्र दाजुभाइका घरमा भन्दा होटलमा बस्नमै रमाउँछ । उसका लागि कुनै गतिलो साथी चाहिन्न अथवा आवश्यक नै पर्दैन ।
नेपालमा रहँदा रक्सीलाई नै गतिलो साथी बनाउने पात्र आफैँ अनौठो र अस्वाभाविक लाग्छ । त्यसले अमेरिकन समाज र नेपाली समाजबीचको भिन्नलाई देखाउन खोजेको प्रष्ट हुन्छ ।
उपन्यास शिखा बुक्सले प्रकाशित गरेको हो । ज्ञानज्योति पब्लिकेशन मुख्य वितरक रहेको यस कृतिको मूल्य रु ३०० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।