युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताउनुभयो ।

‘लेखक स्वयं युवा भएकाले त्यस जीवनको चित्रण उपन्यास स्वभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ’, दाहालले भन्नुभयो ।

निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिनुभयो । ‘पात्र जति बलियो उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाको भनाइ थियो ।

इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।