प्रगतिशील सामाजिक यथार्थवादी साहित्यकार राजन केसीको तेस्रो कृति ‘रन्को’ सार्वजनिक भएको छ।

राजधनीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पहिचानवादी नेता अशोक राई, वरिष्ठ रङ्गकर्मी प्रभाकर देव शर्मा लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वबाट पुस्तक विमोचित भयो ।

लेखक केसी समाजसेवा, राजनीति, रङ्गकर्म, र व्यवसायमा पनि सफल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । ‘रन्को’ दैनिकी विधामा लेखिएको छ ।

पुस्तकमा उहाँले २०७८ भाद्रदेखि मंसीरसम्मको ११० दिनको आफ्नो वरिपरि घटेका घटनाक्रमको सूक्ष्म र यथार्थपरक ढंगले अभिव्यक्त गर्नु भएको छ ।

विशेषगरी लेखकले आफ्नो टोल सीतापाइलास्थित संगमबस्तीको अध्यक्ष हुँदा देखिएका समस्या र समाधानको तत्परता पुस्तकमार्फत उजिल्याउन खोज्नु भएको छ ।

सामाजिक कार्य गर्दा आफूले भोगेका राम्रा र नराम्रा अनुभवलाई तत्कालीन अवस्थाको सरकारको नेतृत्वसँग तुलना गरेर रोचक ढंगले सृजनात्मक लेखन गर्नु भएको छ ।

‘रन्को’ पुस्तकमार्फत विदेशका विकास अनुभव पनि पोखिएका छन् । हामीले पनि विकास र समृद्धि ल्याउन सकिने उपायका बारेमा लेखक केसीले खुला रूपमा औँल्याउनु भएको छ ।

भुँडीपुराणले यो पुस्तक बजारमा ल्याएको हो । विमोचनको चाँजोपाँजो समाजबादी सांस्कृतिक महासंघले गरेको थियो।

कृतिमाथि पूर्वमन्त्री हिसिला यमी, डा. काशीराज पाण्डे, वरिष्ठ पत्रकार भरत ढकाल, प्रा. दीपक घिमिरे, रमेश खड्का, रमेश काफ्ले, प्रा. डा. गोविन्दमान सिंह कार्की लगायतले पुस्तकमाथि टिप्पणी गर्नु भएको थियो ।