
प्युठान / साहित्य परिषद् प्युठानको नवौं अधिवेशन हिजो प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भयो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्यो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ समालोचनाग्रन्थको विजयराज आचार्यका बालसखाहरू प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक विद्यालय प्रधानाध्यापक रामप्रसाद आचार्यसहित नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा.डा. गोपीन्द्र पौडेल, प्युठान नगरपालिकाका मेयर अशोक्कुमार कक्षपति लगायतले विमोचन गर्नुभएको थियो ।
समालोचक प्रमोद प्रधानको यो बालसाहित्य समालोचनाको छैटौं कृति हो । सो कृतिको समीक्षा गर्दै लेखक टोपाराम आचार्यले कृति अत्यन्त महत्त्वपूर्ण भएको बताए ।
कार्यक्रममा प्युठानबाट राष्ट्रिय रूपमा योगदान पुर्याउने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा.डा. गोपीन्द्र पौडेल, साहित्यकार पद्मप्रसाद शर्मा र भूपेन्द्र सुवेदीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. पौडेलले प्युठानको नेपाली साहित्यमा विशिष्ट योगदान भएको बताउनुभयो ।
उहाँले साहित्य परिषद्मार्फत १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।
बालसाहित्यकार विजयराज आचार्यले प्युठानले धेरै विशिष्ट लेखकहरू जन्माएको बताउँदै सबै प्युठानी साहित्यकारहरू सहभागी हुनेगरी बृहत् साहित्य सम्मेलनको आयोजनाको आवश्यकता औंल्याउनुभयो ।
साहित्य परिषद् प्युठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमोद प्रधान, युवराज भण्डारी र विमला खनालले कविता पाठ गर्नुभएको थियो । सोही अवसरमा नारायण पाण्डे द्वारा लिखित आरोग्य दर्पण पुस्तकको समेत विमोचन गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

