काठमाडाैँ /  २०७९ बैशाख ५ गते टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक विधा टुक्का कविताकाे अर्काे फरक कार्यक्रम “अनन्त टुक्का यात्रा-२” अन्तर्गत “समानताकाे हक” शिर्षकमा चाेटिला टुक्काहरू सिर्जना गर्दै सम्पन्न भएकाे छ ।

प्रयाेगवादी काव्यिक विधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र बरिष्ठ टुक्काकार तथा टुक्का अभियन्ता राजेशराज गडताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा १९ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।

अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले समाजमा दबाइएका र अन्यायमा पारिएका व्यक्ति तथा समुदायकाे पीडाहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उदेश्यले याे यात्रा शुरु गरिएकाे जानकारी गराउनु भयाे । त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले सामाजिक न्यायकाे खाेजिकाे लागि चाेटिला टुक्काहरू लेखेर साहित्य श्रृजनाकाे विकास तथा समाजमा दविएकाे आवाज दुवैलाई टुक्का मार्फत बाहिर निकाल्ने प्रयास स्वरुप याे कार्यक्रमकाे शुरुवात गरिएकाे जानकारी गराउनु भयाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्राले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्याउदै जाने कुरामा आफुहरू विश्वस्त रहेकाे भन्दै कार्यक्रममा सहभागी सम्पूर्ण टुक्का यात्रीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे ।

टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “समानताकाे हक” सम्बन्धी केही टुक्काहरू

[१]
१.
वर्ण लिङ्ग जाति धर्म सबै सराबरी
ठुला सानाे भेद हैन बनाेस् बराबरी ।
२.
धनी गरिब सबल निर्वल आत्मा फरक छैन
फरक देख्छ किन कानुन, के सब मानव हैन ?
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[२]
१.
मान्छे आफै ठुला हुने, अरूको मतलब बाल
बुझ साथी लिन पक्कै आउँछ हठात त्यो काल ।
२.
तिम्रो मेरो सबको रगत यो सधैँ हुन्छ रातो
अब भन मैले विरोध गर्दा किन जान्छ सातो ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[३]
१.
नारी पुरुष बराबर कानुनले मान्ने गरोस् ,
धनी गरिब उच्च नीच सबै समानता रहोस् ।
२.
जानुन मानव सबै बराबर हो भेदभाव किन गर्छौ ,
कानुनको समाधान गर नगरेर किनपर सर्छौ ।
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[४]
१.
चल्न खेल्न बोल्न हिड्न समाज भित्र घुल्न,
चाहिन्छ नै समान हक गुराँस भै फुल्न।
२.
हावा पानी माटो देश साझा रहे फूलबारी ,
एक-आपसमा ठुलो सानु हुन्नन् नरनारी।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी

[५]
१.
समान काम गर्न पाउने छ अधिकार
योजनाका काम नै पाउने स्वच्छ विचार ।
२.
समानताको हक नि आयो रोजगारी छाएन
गरिबीले कोल्टे फेरी निदाउने दिन आएन।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[६]
१.
सबैलाई समान व्यवहार गर्नेलाई सम्मान दिनुपर्छ,
मानिस सबै बराबर, बुझी समानताको हक लिनुपर्छ ।
२.
पुग्दो रहेनछ समानताको हक स्थापित भएर मात्र
चेतनशील बनी हक लिने बन्नुपर्छ हकदार पात्र ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

[७]
१,
नेता मिठो खान जन्मेकाे, खाएर थाक्दैन,
जनताको भान्सामा,पातलो खोले पाक्दैन।
२,
समानताको नारा,भोटका लागि लगाउछन्,
जितेर गएपछि, फरक भाव जगाउछन्।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके ।

[८]
१.
नारी र पुरुषको हक एकै हो भन्छन्,
तेत्तिस प्रतिशतमा नारीलाई गन्छन्।
२.
छुवाछुत नहुने विधानमा भनिने,
गाउँघरमा अछुत भनेरै गनिने।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा ।

[९]
१.
सानो ठुलो हुदैन मान्छे सबै सराबरी ,
जातभातको कुरा छोडौँ सबै बराबरी ।
२.
लिङ्ग मात्र फरक हो पुरुष स्त्री एउटै जात ,
बिना भेदभाव ऐ !मान्छे मिलाओैँ हातमा हात ।
✍️ बिके माकजु
भक्तपुर ।

[१०]
१.
समानताको हक अधिकार रोपेर,
फेरि के पाइन्छ र त्यसैलाई छोपेर?
२.
रातै बग्छ खुन शरीरलाई काटेर हेरे,
शान्ति पाइन्छ अनि भेदभावको जात फेरे।
✍️ अच्युत घिमिरे
भुटान 🇧🇹

[११]
१.
मान्छे मान्छे बिच किन गर्छौ फरक,
पाप लाग्छ तिमीलाई पर्छौ नरक ।
२.
जातले हुन्न ठुलो सानो हुन्छ कर्मले,
मान्छे सबै बराबर भन्दछ धर्मले ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

[१२]

ईश्वरले मानवकाे सृष्टि गरे प्रकृति फैलियाे
अज्ञानताले असमानता छायाे संस्कृति मैलियाे ।

नारी र पुरूष दुवै छन् बराबर ,
दुवै भए मात्र हुन्छ सुन्दर घर ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे

[१३]
१.
अनौठो रहेकाे छ हाम्रो भेटघाट,
बिर्सन्न भन्दै तिमीले कुरा नछाट ।
२.
सधैँ रहिरहने छ मुटुमा याद यार ,
हाम्रो मायाको चिनोको अमूल्य उपहार ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा।

[१४]

संविधानमा मात्र राखेर हुँदैन व्यावहारिक दिनु,
सामाजिक कुरीतिलाई अबको पालो चुनाैतीमा लिनु।

यो मान्छेको देश हो, होइन कुनै एउटा मात्र जातीको,
विभेद गर्नु हुँदैन मान्छेको बिचमा यो भाँति भाँतिको।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८

[१५]
१.
अझै पनि उँच नीच भेदभाव नै हुने गर्छ,
सबैले समानताको अधिकार पाउनु पर्छ ।
२.
उद्यानको फूलसरि मिली बसे राम्रो,
पृथ्वी नै एउटै साझा घर हो यो हाम्रो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा।

[१६]
१.
समानता खोजी छोरी चेलीले माइतीमा ज्वाइँ नपाल्नु
भाउजू आमा समान गर्नु आगोमा घ्यू थपेर नबाल्नु ।
२.
गर्नु सेवा सुसार सासू ससुरो को कर्म दिने भगवान हुन
नबिर्स आफ्नो कर्तव्य परायण लाग्ने छ जीवनमा ठुलो गुन ।
✍️ जि कुमार गौतम
भद्रपुर-१ पृथिविनगर झापा।

[१७]
१.
समानताको अधिकारको लागि महिला अघि सरेका
इच्छा र आकाङ्क्षा पूरा गर्न नसकेर अोरालो झरेका ।
२.
मान्छे मार्नेले समानता के हो बुझेको हुदैन
पीडा नबुझ्ने नागरिकलाई अाँसुले छुदैन ।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड ।

[१८]
१.
सानाे ठुलो जात भन्छन् सबकाे रातै छ रगत,
काेही ठुलाे काेही सानाे किन देखिन्छ याे जगत ।
२.
नारी र पुरुष समान भनिन्छ संविधानमा मात्र ,
नियम कानुन आफैँ फरक पार्छन् हकदार पात्र।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४, बुटवल ।

[१९]
१.
समानताको हकको निम्ति सधैँ सचेत बनौँ,
पहिले गरिब धनीलाई समान मान्छे गनौँ ।
२.
धेरै लेखियो समानताको कानुन पान्नाभरि,
व्यवहारमा उतार्न खोज्दा छोरी ठहरै मरी।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।