काठमाडौं, वैशाख १० / नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुर्ख्यौली थातथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर ७) मा अनावरण गरिएको छ ।
अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार/पत्रकार रोचक घिमिरेले शनिबार एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहनु भएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनु भएको घिमिरेले बताउनुभयो ।
वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो ।
अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो ।
स्थानीय पुण्यप्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेको अर्यालको प्रतिमलाई उहाँकै पुर्ख्यौली थातथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो ।
तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकाल देखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो ।
स्थानीय समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका जेष्ठ सुपुत्र प्राध्यापक डाक्टर दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । अर्यालको पूर्ण कदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकलसहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्धकदको सालिक हेटौँडाको पुष्पलाल चोकमा अवस्थित छ ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।