
प्रसिद्ध लेखक कुमार नगरकोटीले आफ्नो लेखनको २५औं वर्षलाई ‘रजत उत्सव’को रूपमा मनाउने भएका छन् । सोही अवसरमा उनी देशभरका पाठकमाझ ‘नगरकोटी मन्त्र’ नामक कार्यक्रम लिएर आउँदै छन् ।
सपना र कल्पनालाई यथार्थ जीवनसँग जोड्दै आएका उनले सो एकल वाचन कार्यक्रममा आफ्ना विभिन्न भाषाका कविता, कथा, संस्मरणजस्ता रचनाका साथै जीवन र जगतसँग जोडिएका भोगाइ सुनाउनेछन् ।
देशका करिब १ दर्जन शहरमा हुने सो उत्सवबारे उनी भन्छन्, “बदलिंदो समयसँगै आफ्ना पाठक र शुभेच्छुकसँग म मेरा कुरा साट्न चाहन्छु । त्यसैले यो उत्सवको परिकल्पना भएको हो ।”
उत्सवबारे आयोजक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, “नेपालमा यसरी लेखकको ब्राण्ड भ्यालु बुझाउन जरुरी पनि छ र नगरकोटीको लेखकीय छवीलाई पाठकमाझ प्रस्तुत गर्न पनि आवश्यक भएकाले यो कार्यक्रम गर्न लागेका हौं ।”
टिकटमा हेर्न र सुन्न पाइने कार्यक्रममा नगरकोटीको नयाँ किताब ‘मन्त्र’ पनि दर्शकले हस्ताक्षरसहित प्राप्त गर्नेछन् ।
बुकहिल पब्लिकेसनको आयोजना र आइएनजी ग्रुपको प्रायोजनमा हुने सो उत्सव आगामी जेठ अन्तिम साताबाट पोखराबाट शुरु भई देशका विभिन्न शहर हुँदै काठमाडौँमा समाप्त हुनेछ ।
उत्सवबारे तयार पारिएको यो भिडियो हेरौं :
[embedyt] https://www.youtube.com/watch?v=UVBkK_bi8IA[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

