कवि रीता अधिकारी ’ऋतु’ को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे ।

कवि तथा साहित्यकार ’ऋतु’ ले ३ दशक लगाएर लेखिएका आफ्ना कविताहरुको कृति ल्याएकी हुन् । कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे ।

साहित्यकार सरुभक्तले कवि ऋतु समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबि भएको बताए ।

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए । सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे ।

कवि रमेश श्रेष्ठले रीतालाई आँफैले आँफैलाई कोर्न सक्ने कलाकारका रूपमा देखेको बताए ।

प्राज्ञ हरिदेवी कोइरालाले कवि ऋतु सरल,सबै कुरा बुझ्ने आमा जस्तै लागेको बताइन् ।

लामो समयमा कविता आफ्नो कविता सङ्ग्रह लिएर आएकी स्रष्टा ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिहरुलाइई फेरि पनि कविता कर्ममा उतार्ने बताइन् ।

साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा चिनारी राख्दै ऋतुलाई समकालीन साहित्य सिर्जनकर्ममा निरन्तर लागीरहने र अग्रजहरुको सम्मान गर्ने अध्ययनशील प्रतिभा भएको जिकिर गरे ।

कृति समीक्षा गर्दै कवि आख्यानकार सरस्वती प्रतीक्षाले ऋतुलाई समसामयिक विषय चेतमा कलम चलाउन र समय व्यवस्थापन गर्न जान्ने स्रष्टाका रूपमा पाएको बताइन् ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, दीपक समीप रीता अधिकारी ऋतु, शिव त्रिपाठी, उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।