
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कुशल प्रशासक तथा व्यवस्थापक स्व. हेमबहादुर मल्ल सम्मान २०७६, सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन सङ्घले बिहीबार पत्रकार सम्मेलनमा उपाध्यायलाई सम्मान गरिने जानकारी दिएको हो ।
उपाध्यायले अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुुक्त भई भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपाल जन–प्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटाले उपाध्यायले राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, कुुशल नेतृत्व क्षमता प्रदर्शन गरेको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुुर्याएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माणमा पहल गरेको योगदानको कदरस्वरुप यो पुुरस्कार प्रदान गर्न लागिएको बताए ।
यस सम्मान छनोटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जन–प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्व सचिव पुण्यप्रसाद न्यौपाने र पूर्व सचिव जीवन प्रभा लामा सदस्य रहेका थिए ।
यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति भवनमा विशेष समारोहकाबीच प्रदान गरिनेछ ।
यसअघि यस सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुुलमान घिसिङ, डा. सन्दुक रुइत र डा. गौरीशंकर लाल दास सम्मानित भइसकेका छन् । उपाध्याय यो सम्मान प्राप्त गर्ने सत्रौँ व्यक्ति हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

