Chovar Blues Mobile Size

 

रामलाल जोशी

सुदूर पश्चिमाञ्चल साहित्य समाजले नयाँ कार्य समिति चयन गर्दै गर्दा समाजका कार्यकारी अध्यक्ष साहित्यकार रामलाल जोशीले राजिनामा दिएका छन् । आगामी कार्यकालका लागि आफू अघि नबढ्ने र नयाँ कार्य समितिलाई सक्दो सहयोग गर्ने उनले बताएका छन् ।

एउटा लामो फेसबुक स्टाटस लेख्दै उनले समाजको अध्यक्षका रूपमा साहित्यिक क्रियाकलाप, गतिविधि र अभियानको नेतृत्व गर्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

जनस्तरबाटै वैकल्पिक एकेडेमी निर्माण गर्ने परिकल्पना र अभियानमा पाएको सहयोगका लागि पनि उनले सम्पूर्णमा धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा २०६० सालमा राष्ट्रकवि माधव घिमिरेद्वारा सिलान्यास भएको र अर्थाभावका कारण अधुरो रहेको भवन निर्माण कार्यलाई घरदैलो अभियानबाट सहयोग सङ्कलन गरी निर्माण कार्य सम्पन्न गर्दै नेपाली साहित्यका प्रथम दुखान्त नाटककार पहलमानसिङ्ह स्वाँरको नाममा सो भवनलाई नामकरण गर्ने र एउटा साहित्य संस्थाको आफ्नै तीनतले भवन निर्माणको नेतृत्व गर्ने अवसर पाएकामा, प्रधानमन्त्री शेरबहादुर देउबाबाट भवन उद्घाटनको अवसरमा तीन दिने साहित्यिक साँस्कृतिक महोत्सव आयोजनाको अगुवाइ गर्ने अवसर पाएकामा, साहित्य समाजको प्राङ्गणमा देशका मूर्धन्य साहित्यकारहरुको सालिक बाटिका निर्माण गर्ने परिकल्पना र उद्देश्यअनुरुप भानुभक्त आचार्य, पहलमानसिङ्ह स्वाँर र जयपृथ्वीबहादुर सिंहको सालिक निर्माणको नेतृत्व गर्ने अवसर पाएकामा, सुदूरपश्चिमको कला,साहित्य, संस्कृति र मौलिक पहिचानलाई प्रचार‑प्रसार गर्न ४७ जना साहित्यकार, कलाकार र संस्कृतिकर्मीको टोलीद्वारा सुदूरपश्चिमको महाकालीबाट पूर्वको मेची हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, असम र मेघालयसम्मको १७ दिने साहित्यिक सांस्कृतिक अभियानको नेतृत्व गर्ने अवसर पाएकामा, विश्वका विभिन्न देशमा बस्ने नेपाली भाषी विशिष्ट श्रष्टाहरुलाई एउटै मञ्चमा आमन्त्रण गरी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा धनगढीमा सप्ताहव्यापी “विश्व नेपाली साहित्य महोत्सव” उद्घाटन गराउने नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गौरव लागेको बताएका छन् ।

उनले धनगढीलाई साहित्य, चेतना र बौद्धिक नगरीका रुपमा विकास गर्ने परिकल्पना र उद्देश्यले देश‑विदेशका लेखक, कवि, साहित्यकार र बुद्धिजीवीहरूलाई आमन्त्रण गरी प्रत्येक वर्ष साहित्य महोत्सव गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएकामा, सोही योजनाअनुसार गएको फागुनमा तीन दिने नेपाली साहित्य महोत्सव सम्पन्न गर्ने र २०७९ मा विश्वभरिका नेपालीभाषी महिला लेखिकाहरूको महासम्मेलनका रुपमा “विश्व नेपाली नारी साहित्य महोत्सव” आयोजनाको प्रस्ताव गर्ने अवसर पाएकामा समेत उनले संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

अग्रज स्रष्टाहरूको सम्मान र नवोदित सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष २५ हजारदेखि १ लाख एघार हजारसम्मका १३ ओटा पुरस्कार प्रदान गर्ने व्यवस्था भएकोमा त्यसका लागि विभिन्न दाताहरूसँग अनुरोध गरी करिब ५२ लाखको अक्षयकोष सङ्कलन गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएकामा समेत उनले गौरव महसुस गरेको बताएका छन् ।

यीबाहेक नियमित साहित्यिक कार्यक्रम गर्ने, मूर्धन्य साहित्यकारहरूका जन्मजयन्ती मनाउने, स्रष्टाहरूका कृति प्रकाशनमा सहयोग र विमोचन गर्ने, सुदूरपश्चिमका प्रायः मौलिक र साँस्कृतिक पर्व मनाउने तथा साहित्य समाजलाई सुदूरपश्चिमका सबै स्रष्टाहरूको साझा र प्राज्ञिक सस्थाका रुपमा स्थापित गराउने कार्यको नेतृत्व गर्ने अवसर पाएकामा र यी सबै कार्यका दौरान राष्ट्रपतिद्वय भण्डारी तथा रामवरण यादव, प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द लगायतसँग बारम्बार भेटी सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिका बारेमा ध्यानाकर्षण गराउने अवसर प्राप्त भएकामा उनले खुसी व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘स्रोत, साधन र अर्थ अभावका कारण परिकल्पना गरेका र सोचेका जति कार्यहरू गर्न नसके पनि सहयोगीहरूको विश्वास र उदार सहयोगका कारण मोफसलमा बसेर पनि केही सम्झनलायक कार्यहरू गर्न सकेँ कि भन्ने तुच्छ सन्तोष मनमा कहिलेकाहीँ प्राप्त हुने गर्छ । यसका लागि अध्यक्षका रुपमा मलाई विश्वास र भरोसा गरी सहयोग गर्ने मेरो कार्य समितिका साथीहरू, सल्लाहकार, सम्पूर्ण आजीवन सदस्य, पत्रकार साथीहरू, सुदूरपश्चिम प्रदेश सरकार, प्रदेश सभाका मानयीय सदस्य, धनगढी उपमहानगरपालिका र स्थानीय अन्य पालिकाहरू, विभिन्न राजनीतिक दलका नेता, उद्योगी- व्यापारी, दाता, सहयोगी लगायत सम्पूर्ण मेरा शुभचिन्तकहरुमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।’

सुदूर पश्चिमाञ्चल साहित्य समाजको बैशाख ३ गते अधिवेशन आह्वान गरिएको छ । यस अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्य समितिले थप सफल कार्यकाल बिताउने शुभकामनासमेत उनले दिएका छन् ।