सिर्जना र अनुभूतिः भावकीय संवादको छैटौँ शृङ्खलामा “अपरिचित अनुहार”माथि परिचर्चा गरिएको छ । रिडर्स हब, कौशलटारमा भएको कार्यक्रममा महेश पौड्यालको कथासङ्ग्रह “अपरिचित अनुहार”माथि भावकीय संवाद गरिएको हो ।

अनौपचारिक रुपमा सञ्चालन भएको कार्यक्रममा सञ्चालक सनतकुमार वस्तीले कथासङ्ग्रहलाई मानविकय संवेदनाको गहिलो अनुभूतिको सङ्ग्रहका रुपमा विश्लेषण गरे । उनले भने, “महेशबाबूको सङ्ग्रहमा रहेका कथाहरुको प्रस्तुति पारम्परिकदेखि लिएर आधुनिक, प्रायोगिकहुँदै स्वैर काल्पिनिकसम्म रहेको छ । समग्र पुस्तक सामाजिक सद्भाव र मानव जीवनको पक्षमा रहेको छ ।”

वरिष्ठ नियात्राकार प्रतीक ढकालले पौड्यालको कथाकारितालाई “अपरिचित अनुहार”ले बचाइरहने बताए । उनले भने, “पुस्तकमा १८ वटा कथा छन् । ती कथाका शीर्षकहरु हाम्रा (पाठकका) आँखाले देखेका कथा हुन् । तर कथाभित्रका पात्रीकरण र दृष्टिकोण निमार्णचाहिँ महेश पौड्यालको कलाकारिता हो ।”

कार्यक्रममा कथाकार पौड्यालका मातापिताका साथै भवानी खतिवडा, महेश कार्की क्षितिज, राधेश्याम ढकाल, निरज दाहाल, महेश बराल, पेशलकुमार लुइँटेललगायत करिब ५० जनाको उपस्थिति रहेको थियो । राधेश्याम ढकाललगायत स्रष्टाहरुले समेत कथासङ्ग्रहमाथि आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सुरुवातमै कथाकार महेश पौड्यालले दर्शकदीर्घामा उपस्थित साहित्य व्यक्तित्वहरुलाई सम्बोधन गर्दै संक्षिप्त परिचय गराएका थिए । साथै, उनले कथासङ्ग्रहको दोस्रो संस्करण प्रकाशनमा आइसकेको खुसी साझासमेत गरेका थिए ।