नवलपुर अनलाइन सम्वाददाता, काठमाडौं। वरिष्ठ साहित्यकार पवन आलोकको नयाँ नियात्राकृति ‘पहाड र लमतन्न समुन्द्र’ बुधवार काठमाडौँमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ ।
कृतिको प्रकाशन साझा प्रकाशनले गरेको हो भने विमोचन समारोहको आयोजना नियात्रा समाज नेपालले गरेको हो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी साहित्यकारहरूले कृतिको एक–एक प्रति हातमा लिएर एकसाथ विमोचन गरिएको विशेष खालको कार्यक्रममा बोल्ने वक्ताहरूले आलोकको व्यक्तित्व तथा कृतिका बारेमा चर्चा गरेका थिए ।
‘पहाड र लमतन्न समुन्द्र’ आलोकको दोस्रो नियात्राकृति हो । यसअघि ‘युरोपको झझल्को’ शीर्षकको नियात्रा–पुस्तक प्रकाशन भइसकेको छ ।
एक इमानदार लेखकको रूपमा नियात्रा लेखनमा सिद्धहस्त आलेकको ‘अरुण एक्सप्रेस’ नामक यात्रोपन्यास कृतिसमेत प्रकाशित छ ।
त्यसो त उहाँ एक सक्षम कवि पनि हुनुहुन्छ र करिब दुई दशकअघि नै ‘पवन आलोकका कविता’ शीर्षकको पुस्तक प्रकाशन भएको थियो । वरिष्ठ साहित्यकार आलोक हाल ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकको प्रधानसम्पादक हुनुहुन्छ ।
भोजपुरको कुलुङ जन्मनुभएका आलोक हाल काठमाडौँमा बस्नुहुन्छ । उहाँ नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष तथा संरक्षकसमेत हुनुहुन्छ । नेपालमा पहिलोपटक स्थापित योगमाया राष्ट्रिय स्रष्टा सम्मान, पवन आलोक नियात्रा पुरस्कार, नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारजस्ता विशेष पुरस्कारका संस्थापकसमेत हुनुहुन्छ ।
‘पहाड र लमतन्न समुन्द्र’ ले पाठकको मन जित्नेमा आफू विश्वस्त रहेको कुरा साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोखरेलले बताए । कार्यक्रमको अध्यक्षता गरिरहेका नियात्रा समाज नेपालका अध्यक्ष एवं प्रख्यात नियात्राकार प्रतीक ढकालले भने, ‘आलोकको लेखाइमा सधैँ इमानदारिता पाइन्छ, ढाँटपन पटक्कै देखिँदैन, यो कुरा अरु लेखकहरूले पनि सिक्नु जरुरी छ ।’
कार्यक्रममा आफ्ना विचार राख्ने अन्य वक्ताहरूमा वरिष्ठ स्रष्टाहरू प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विधान आचार्य, किशोर पहाडी, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, जय छाङ्छा, प्रा.डा. गोविन्दमानसिंह कार्की, ठाकुर बेलबासे, भारती गौतम हुनुहुन्थ्यो । वक्ताहरूले आलोकको लेखाइ सरल, सिधा र स्पष्ट हुने गरेको, लेखाइमा कुनै तडकभडक र छलछाम नहुने गरेको, लेखनीमा प्रतिबद्धता, शिष्टता र निरन्तरता रहेको, र, आलोकको लेखाइ र जीवनशैलीमा राम्रो सामिप्यतासमेत रहेकोले युवापुस्ताका लेखक–सर्जकहरूका लागि आलोक अनुकरणीय र दृष्टान्तमय पनि रहेको चर्चा गरेका थिए ।
काठमाडौँको अनामनगरमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा जयदेव भट्टराई, देविका तिमल्सिना, पद्युम्न जोशी, राजेश खनाल, शंकर भारती, गीता रेग्मी, ठाकुर बेलवासे, छविरमण सिलवाल, रञ्जना निरौला, रेखा कँडेल, मुना बोहोरालगायतका स्रष्टाहरूको पनि उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।