साहित्यिक पत्रकार एवं लेखक जयदेव भट्टराईलाई ललितकला पत्रकार समाज (सोफाज)ले सम्मान गरेको छ । सोफाजले ललितकला पत्रकारिताका क्षेत्रमा योगदान पुर्याएका कारण मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई ‘ललितकला पत्रकारिता सम्मान’ प्रदान गरिएको हो ।

त्यसैगरी पत्रकारद्वय सुशीला तामाङलाई सोफाज ‘लक्ष्मीमाया कुमाले पुरस्कार’ र नारायण ढुङ्गानालाई ‘नारायणबहादुर सिंह पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई जनही एघार हजार १११ रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यावसायिक रूपमा गरिरहनुभएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउनेगरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैद्धान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर आफूलाई सम्मान गर्दा कामप्रति थप ऊर्जा थपिएको बताए । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो ।

समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने भएका कारण कलाकार र कलाक्षेत्रको साझा प्रयासबाट पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।