काठमाडौँ, चैत २९ / नयाँ वर्षको दिन वैशाख १ गते काठमाडौंको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सव “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुने भएको छ ।

ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालिले आयोजना गर्न लागेको सेलिब्रेसन अपराह्न ४ बजेदेखि शुरु हुने र उक्त उत्सवका लागि दिउँसो २.३० बजेदेखि नै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका छन्।

पछिल्लो समय कोरोना महामारीले मानिसको मानसिक सन्तुलनलाई समेत गिजोलेको अवस्था छ । जसका कारण मानसिक समस्याहरू बढ्दै गइरहेका छन् । यस ‘सेलिब्रेसन’ कार्यक्रमले व्यक्तिलाई ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी भएर तनाव व्यवस्थापन गर्ने मार्गतर्फ अग्रसर हुन प्रोत्साहित बनाउने विश्वास आयोजकको छ ।

हास्य कलाकार मनोज गजुरेलका अतिरिक्त उत्सवमा भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथि गायक प्रह्लाद सिंह टिपानियाको विशेष प्रस्तुति रहने छ ।

ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणको सत्सङ्गको अवसर समेत पाइनेछ । नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’ को बेजोड लाइभ प्रस्तुति रहनेछ ।

गायिका बेनिशा पौडेल, प्रदिप रोदन लगायतका गायकगायिकाको प्रस्तुति रहने सो कार्यक्रमबाट सहभागीले ज्ञान, ध्यान, सत्सङ्ग र साधनाको माध्यमबाट ओशोको आधुनिक मनुष्यलाई बुद्धत्व र भगवत स्थिति प्राप्त गर्ने तथा समग्र मुनष्य बन्ने नयाँ जीवन दर्शन ‘जोरबा दी बुद्ध’को जीवनशैलीको बारेमा अनुभव लिन सक्ने जारी विज्ञप्तिमा जनाइएको छ ।