काठमाडौँ, चैत ३० / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ ।
आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो ।
पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिकाहरू एकै ठाउँमा उपलब्ध हुनेछन् । यस कारण पनि प्रज्ञाको पुस्तक प्रदर्शनीको विशेष महत्त्व छ ।”
पुस्तक प्रदर्शनी आरम्भ कार्यक्रममा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र डा. देवी नेपालको उपस्थिति रहेको थियो ।
दुई हप्तासम्म सञ्चालन हुने पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूसमेत उपलब्ध हुनेछन् ।
सार्वजनिक बिदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।