अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले कवि तथा मुक्तककार तीर्थराज अधिकारीको ‘साधनाको स्वर्ण वर्ष’ पुस्तकमाथि परिचर्चा कार्यक्रमका साथै स्रष्टालाई सम्मान गरेको छ ।
काठमाडौँमा आयोजित ‘साधनाको स्वर्ण वर्ष’ कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले मुक्तकमणि अधिकारीलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा समालोचक खेमराज पोखरेल र समालोचक डा. शान्तिमाया गिरीले साधनाको स्वर्ण वर्ष पुस्तकसँगै साहित्यकार अधिकारीका सिर्जनामाथि समीक्षा गर्नु भएको थियो ।
साधनाको स्वर्ण वर्ष विगत ५० वर्षयता अधिकारीले सिर्जना गर्नु भएका सिर्जनाहरूको वृहद् सङ्कलन हो । पाँच सयभन्दा बढी पृष्ठमा अधिकारीले सिर्जना गर्नुभएका मुक्तक, रच्नु भएका गीत तथा कविताहरू सङ्कलन गरिएको छ ।
यस पुस्तकलाई कल्याण पन्तले सम्पादन गर्नु भएको हो ।
यस कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य डा. रेणुका थापा सोलु लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मन्तव्यकै क्रममा अमेरिकामा बसोबास गर्ने र नेपाली साहित्य सिर्जनामा क्रियाशील स्रष्टा तीर्थराज अधिकारीले प्राप्त सम्मानले आफूलाई लेखनमा ऊर्जा प्राप्त भएको बताउनु भयो ।
सम्मानका लागि संस्थाप्रति उहाँले आभारसमेत प्रकट गर्नुभयो ।
अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष गीता मैनालीको स्वागत मन्तव्यबाट आरम्भ भएको पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा स्रष्टा अधिकारीलाई अनेसास नेपाल च्याप्टर, राष्ट्रिका साहित्य प्रतिष्ठानले सम्मान तथा मुक्तक सागरले अभिनन्दन गरेको थियो ।
सोही अवसरमा अधिकारको शब्द तथा बिपिन घिमिरे र शिला बिष्ट ओलीको स्वरमा गीतसमेत प्रस्तुत गरिएको थियो । गीतको बोल थियो-
‘पिरतीका बाचाहरू गन्न बाँकी छ
तिमीलाई एउटा कुरा भन्न बाँकी छ’ ।
नेपालको प्रशासकीय क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका अधिकारीलाई सम्मान गर्ने यस कार्यक्रममा नेपाल सरकारका भूतपूर्व तथा बहालवाला सचिव, सहसचिव लगायत अन्य व्यक्तित्वहरूको वृहद् उपस्थिति रहेको थियो ।
कार्यक्रम अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।