साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो ।

यस पटक पनि नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश गरिएको थिएन । नियम र रीत पुर्याई प्राप्त भएका रचनामध्येबाट तीन कविताहरू छनोट गरिएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् ।

राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’

कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता राजती शर्मा काफ्लेको ‘आँशु’, शितल उपाध्यायको ‘अपाङ्गता र जीवन’ र प्रवासी सुमनको ‘रङ्गीन सहरका श्यामश्वेत दुःखहरू’का कवितालाई उत्कृष्ट घोषित गरिएको हो ।

छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

अर्काे फाेटाे-कविता प्रतियाेगिता आज आइतबार पुनः हुनेछ ।

पुरस्कृत कविता तल पढ्नुहोस्ः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आँशु
राजती शर्मा काफ्ले

आएँ नै नभनी लुकी नयनमा बस्ती बसायौ तिमी
काँप्दै छैन भनेँ जगा नजरमा हाँस्दै अटायौ तिमी ।
खुल्दा ढक्कन यी लुकेर कसरी हैरान गर्थ्यौ तिमी
पोल्दा धड्कनमा गुलाबजल झैं चुर्लुम्म पार्थ्यौ तिमी ।।
(१)
मेरा चाह बटुल्न टिप्न सपना मैदान माथि तिमी
पीडा कष्ट उमंग रङ्ग सबको एक् मात्र साथी तिमी ।
वर्षा कञ्चन झैं समुद्र तट झैं आँखा सजायौ तिमी
आफैँ भासिन गै गलातिर कतै फुट्दै हरायौ तिमी ।।
(२)
डिल् को साँध थियो कठै नयनमा तोडेर जाने तिमी
दिल् को बाँध थियो अटुट बलियो फोडेर जाने तिमी ।
वाचा बन्धनको सँघार बलियो तोडेर जाने तिमी
तिम्रै खातिरको रुमाल हरियो छोडेर जाने तिमी । ।
(३)
कस्ले जित्छ यहाँ लुटेर मन यो हारेर जाँदा तिमी
फक्रेका सपना निमेष भरमा मारेर जाँदा तिमी ।
तिम्रै सँग गए उमंग रसिला छाडेर जाँदा तिमी
ठ्याक्कै बन्द भए खुशी अधरमा भागेर जाँदा तिमी । ।
(४)
पीडा यो मनमा कथा नयनमा हर् सास सम्झाउने
प्रश्नै प्रश्न यहाँ समाज भरका घोच्ने र तड्पाउने ।
कस्तो के कसरी कहाँ किन कता कस्ले त बुझ्दिन्छ र
आँशुकै कविता भनेर कसरी होला मीठो उत्तर । ।
(५)

 

अपाङ्गता र जीवन
शितल उपाध्याय
***********************
दुई विपरीत ध्रुवहरु बोकेको कुनै चुम्बकलाई
जति नै जोडले हिर्क्याइयोस्, टुक्राइयोस्
हरेक सानो टुक्रामा पुन: भेटिनेछन्
दुई विपरीत ध्रुवहरु
र, हरेक टुक्रा सत प्रतिश्त
चुम्बक नै हुनेछन् ।
त्यस्तै,
काटियोस् हातगोडा
वा फुटोस् कानको जाली
मान्छेलाई मान्छे बनाउने तत्त्वहरु
यथावत् नै रहनेछ ।
तब पनि मान्छे,अपाङ्ग बन्ने छैन
मान्छे नै रहनेछ ।
‘अपाङ्ग’ शब्दको अस्तित्व हुनु,
शब्दकोषकै ठूलो हार हो ।

खुट्टा नभएकाले तपाईं मलाई अपाङ्ग भन्नुहुन्छ !
गुलाफका भिन्दै हुन्छ गुणहरु
आदिकालदेखि हिँडेका छैनन् गुलाफका बोट
र पनि सुन्दर नै छ गुलाफ ।
आदिकालदेखि त्यहीँका त्यहीँ छन् अजङ्गका पहाड
र पनि चौडा नै छ, पहाडको छाति।

जीवन औँलाजस्तो छैन, नङजस्तो छ
जति नै उसलाई काटियोस्
त्यो फेरि पलाउँछ बिना सिकायत्
जति नै प्रतिकूल अवस्थामा पनि म विचलित हुन्नँ
पिपल हुँ म
जमिन खोज्दिनँ म,
भित्ताका कापमै पनि उम्रिदिन सक्छु
नियति मलाई आगोमाथि नै किन नबसाइदियोस्
म खलखली बगाइदिनेछु पसिना
र निभाइदिनेछु राँको
क्यारम बोर्डको गोटी हुँ म
सयौँ पल्ट ठोकिए पनि
प्वालसम्मको यात्रा तय गरेरै छोड्छु ।
वास्तवमा सयौँ पल्ट ठोकिन्छु
र पो त पुग्छु ।
म ब्रायोफाइलम (Bryophyllum ) हुँ
म पलाउनका निम्ति जराको माग गर्दिनँ
डाँठको पनि माग गर्दिनँ
एउटै पातबाट म सशरीर पलाइदिन सक्छु।

नचल्दैमा हातगोडा वा धुमिल हुँदैमा दृष्टि
रोकिँदैन जीवन
गति नै जीवन हो
म जिम्मेवारीको नदी तरेर पुग्छु पारि
जीवन,
भरिसभामा टिल्पिलाएको आँशु होइन
जसलाई रोक्न सकियोस
जीवन, खुला आकाशमुनि छुटेको उन्मुक्त हाँसो हो
जीवन, जुनसुकै चाबीले पनि खुल्ने
अचम्मको ताल्चा हो ।
तपाईं दयाभाव बर्साउनुहुन्छ ममाथि
र भन्नुहुन्छ ”’विचरा! हिँडडुल गर्न मुस्किल छ”
सोध्नुस्,
अर्कोतिर मुन्टो फर्काएका तपाईंका सीमा स्तम्भलाई
एकै ठाउँमा रहिरहन
कुन परिमाणको साहस चाहिन्छ ?

रिले रेस हो जीवन
जहाँनेर प्रस्टै देखिन्छ अन्त्य
त्यहीँबाट सुरु हुन्छ अर्को अध्याय
हेक्का राख्नुस्,
व्हिल चेयरमा बस्दैमा
धिमा हुँदैन जीवनको गति ।

वास्तवमा,
कथित अपाङ्ग नै सबैभन्दा सबल हुन
कान सुन्न छाडेको हो तिम्रो सरकारले
र पो त, सरकार रहिरहेको हो सरकार
चल्नै छोडेर नै जनमतको स्वाद थाहा पाउने जिब्रो
लम्बिएको हो सबै तानाशाहको आयु।

मैले जन्मजात आँखा गुमाएर के भो ?
आखिर,
पीपलको रुखमुनि चिम्लेका हुन बुद्धले आँखा
अनि मात्र
सदियौँको निन्द्राबाट ब्युँझिएको हो मान्छे।

 

रंगीन सहरका श्यामस्वेत दु:खहरु
प्रवासी सुमन

इन्द्रेणी कोलाजका
भर्भराउॅंदा रङहरु
ढकमक्क सजाएर
ग्रेटवाल जस्ता पर्खाल
र गगनचुम्बी महलका भित्ताहरुमा
सहर खित्खिताइरहेछ
मात्र औपचारिकताका निमित्त।

सहरमा सबैथोक त औपचारिक छ
मानवीय सम्बन्ध
मान्छेको हाँसो
प्रेमको नाममा देखाइने चटक वा चातुर्य
सबै-सबै एक कुशल अभिनयजस्तो।
मात्र आँसु छ प्राकृतिक
जसलाई छोपी राख्ने
भगिरथ प्रयत्न गर्छ सहर
तैपनि थाहै नपाई
कथित सभ्यता र लज्जाका बाँधहरु भत्काएर
रसाइहाल्छन् आँखाहरु ।

फराकिला सडकपेटी
या साँघुरा गल्लीहरु
अलिसान महलका चोटाकोठा
या झुपडपट्टीका चिसा बस्तीहरु
कहाँ छैन र आँशुले नकोरेको ओसिलो चित्र??

हो, थाहा छ;
सहरलाई आँसु र रोदन मन पर्दैन
सहरलाई गरिबी र अभाव मन पर्दैन
तर पनि आफ्नो छद्म रूप देखाएर
किन लोभ्याइरहन्छ सहरले गरिबलाई
रातमा चहकिलो बत्तीले
मसिना पुतलीहरूलाई लोभ्याएजस्तो।