बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुरका कवि दयाकृष्ण राईको नयाँ कविताकृति ‘अश्वेत महावाणी’ बजारमा आएको छ ।
राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुम्विद् बैरागी काइँलाले लोकार्पण गरे ।
‘अश्वेत महावाणी’ कवि राईको छैठौँ कृति हो । कविता विधाको चाहिँ तेस्रो कृति हो । कविताकृति छ खण्डमा विभाजनन गरिएको छ । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत कविताका विषय बनाइएका छन् । पुस्तकमा फुटनोटको समेत प्रयोग गरेर नौलो अभ्यास गरिएको छ ।
कविताकृतिको समीक्षा गर्दै समाचोचक प्रा.डा. गोविन्दराज भट्टराईले कवि राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता उहाँ नेपालमै भएको भए बन्न नसक्ने जिकिर गरे ।
कविताबारे लेखक तथा समालोचक डा. हरिप्रसाद सिलवालले आज पनि मानिसहरू आधुनिक दास भएर बाँच्न विवश भएको, सांस्कृतिक उत्पीडनको समस्या दक्षिण एसियामा बढी रहेको छ र यसक कृति पहिचानको वैचारिक आन्दोलनको दस्तावेज भएको बताए ।
कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओवामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा कालो मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने बताए ।
पुस्तक नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।