निबन्धकार मणि अर्यालको निबन्ध सङ्ग्रह ‘कुटी’माथि चर्चा गरिएको छ ।

‘लेट्स टक’को आयोजनामा प्रत्येक शनिबार भरतपुरको होटल अशोकामा पुस्तकको चर्चा गरिँदै आएको छ । यो साता कुटीको चर्चा राखिएको लेट्स टकका अक्षरराज पन्थीले जानकारी दिए ।

युरेका पब्लिकेसन्सबाट प्रकाशित कुटीमाथि युवा पाठकहरू सिर्जना आचार्य, दीपा धमला र दिनेश नाइसाले टिप्पणी राखेका थिए । युवाहरूले पढ्ने र उनीहरूकै टिप्पणी लेखकलाई सुनाउने यो अभियान अहिले चितवनमा हरेक शनिबार चलिरहेको छ ।

टिप्पणी सँगसँगै युवाहरूले लेखकसँग सवालजवाफ गर्छन् । त्यसपछि युवा पाठकका खुल्दुलीलाई लेखकले मेटाउने प्रयास पनि गर्छन् ।

सप्तगण्डकी क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी सिर्जनाले कुटी भित्रका एघार वटै निबन्धका बारेमा चर्चा गरेकी थिइन् ।

त्यस्तै दीपा धमालाले पनि एघार वटै निबन्धको चर्चा गरिन् । निबन्धमा समेटिएको विषयवस्तु र निबन्धले दिन खोजेको सन्देशलाई सरसर्ती सुनाइन् । एघार वटा निबन्ध मध्ये ‘पसिनाको स्वाद’ निबन्ध आफूलाई विशेष मन परेको दीपाले सुनाइन् ।

कुटीमाथि नै अर्का युवा दिनेश नाइसा मगरले पनि टिप्पणी राखे । मगरले कुटीका निबन्धहरू सामाजिक विषयमा लेखिएको हुनाले निबन्ध पढ्दा आफ्नै समाजको झझल्को प्रतिविम्बित भएको बताए ।

निबन्धसङ्ग्रहको सुरुवातमा ‘गुरुभेट’ निबन्ध छ । यो शैक्षिक निबन्ध हो । बाल मनोविज्ञानलाई निबन्धकार अर्यालले निबन्धमा उतारेका छन् ।

‘होटल हाइवे’ दोस्रो निबन्ध हो । यात्राका क्रममा बाटोका होटलमा खानपिन गरिँदाको अवस्था र अनुभवलाई निबन्धकारले यो निबन्धमा उतारेका छन् ।

तेस्रो निबन्ध ‘मधुशाला’मा सराब बिना साहित्य सिर्जना मुस्किल हुने आम भनाइलाई गलत साबित गरिएको प्रसङ्ग छ । त्यसैगरी ‘मेरो गाउँ’ निबन्धमा गाउँको वर्णन, ‘मित्र संवाद’ निबन्धमा साथीको प्रसङ्ग र महत्त्व, कुटी निबन्धमा आफ्नो घरको चर्चा, ‘नेपालगन्ज’ निबन्धमा नेपालगन्ज शहरको चर्चा छ ।

त्यसैगरी ‘प्यान्थर’ शीर्षकको निबन्धमा परिवार नियोजनको अस्थायी साधन प्यान्थरको प्रयोगको प्रसङ्ग जोडिएको छ ।

‘पसिनाको स्वाद’ निबन्धमा मिहिनेती व्यक्तिको सन्दर्भ छ । ‘रिस’ शीर्षकको निबन्धमा रिसका बेफाइदा बारेमा वर्णन छ । त्यस्तै सङ्ग्रहको अन्तिम निबन्ध ‘सम्झनामा इन्द्रबहादुर राई’मा वरिष्ठ स्रस्टा इन्द्रबहादुर राइको साहित्यिक योगदानको चर्चा छ ।

तीनैजना वक्ताले सबै निबन्धमाथि अलगअलग टिप्पणी राखेका थिए । शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको कार्यक्रमलाई सञ्चारकर्मी सविता अधिकारीले सहजीकरण गरेकी थिइन् । आफ्ना निबन्धहरूको टिप्पणी युवापुस्ताको मुखबाट सुन्न पाउँदा अलग्गै आनन्द मिलेको निबन्धकार अर्यालले बताए ।