rbt

जीवन लामा/दोलखा

आ–आफ्ना नगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक र कला साहित्यको प्रवद्र्धन तथा संरक्षणको लागि दुई नगरपालिकाबीच भगिनी सम्बन्ध बिस्तार गरिएको छ । धनुषाका जनकपुरधाम उपमहानगरपालिका र दोलखाका भीमेश्वर नगरपालिकाबीच प्रचीन कालदेखिनै रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आत्मसाथ गर्दै दुई नगरहरुबीच आज भगिनी सम्बन्ध स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकामा आज आयोजित औपचारिक कार्यक्रमबीच जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाह र भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध बिस्तार जानकारी दिनुभयो । जनकपुरधाम र भीमेश्वर नगरपालिकाबीच धार्मिक, सांस्कृतिक रुपमा पुरानो सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ बनाउनको लागि औपचारिक रुपमै घोषणा गरिएको बताउनु भयो ।

दोलखा र धनुषा पर्यटकीय दृष्टिकोणले पनि धनी रहेकाले आगामी दिनमा धनुषा घुम्न आएका पर्यटकलाई दोलखामा घुम्ने वातावरण सिर्जना गरिदिने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाहले बताउनुभयो ।

भगिनी सम्बन्ध विस्तारको साथै आजनै भानु–विद्यापतिको सालिक शिलान्यास गरिएको छ । साहित्यमा आदिकवि भानुभक्त आचार्य र मैथेली भाषाका आदिकवि विद्यापतिको ठूलो योगदान रहेकाले भावी पुस्ताको लागि सम्झनायोग्य कार्य हुनेछ । भीमेश्वर नगरपालिकाको वडा नं. ६ सिमपानीमा मेयरद्वय भरत बहादुर केसी र लाल किशोर शाहले संयुक्त रुपमा सालिक शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपािलकाका मेयर लाल किशोर शाह, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, उपमेयर कमला बस्नेत, साहित्यकार विर्ख क्रान्ति, संस्कृतिविद् शान्तकृष्ण श्रेष्ठ र पत्रकार बृज कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

rbt