काभ्रे / लामो समयदेखि नेपाली भाषा र साहित्यको विकास र विस्तारमा समर्पित अक्षरमार्गले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा आठ साहित्यसेवीहरूलाई सम्मान समर्पण गरेको छ ।
यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट साहित्यकार गंगा सुवेदी, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट श्रीराम श्रेष्ठ, नरबहादुर अक्षरमार्ग सम्मानबाट डा. शैलेन्दुप्रकाश नेपाल, ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट भारतका डा विजय पण्डित, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. साधना पन्त प्रतीक्षा, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट तुयुकाजी ताम्राकार र खड्गवेद अक्षरमार्ग सहयात्री सम्मानबाट विजय राम कर्माचार्य सम्मानित भएका हुन् ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मान समर्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि के के कर्माचार्यले सम्मानित प्रतिभाहरूलाई टीका, माला, दोसल्ला, सम्मान पत्र, पुस्तक उपहार तथा सगुनबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा सम्मानित प्रतिभा रोचक घिमिरेले स्रष्टा सम्मानबाट स्रष्टाको अक्षरकर्म अनुमोदन भएको र अक्षरको मार्गबाट विचलित हुन नदिने विचार पोख्नुभयो ।
सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्यले कर्म गरेपछि फल पाउने विचार व्यक्त गर्नुभयो । अक्षरको मार्गमा हिंड्नु पनि तपस्या नै भएको विचार पोख्दै उहाँले अक्षरमार्गको कर्म सुन्दर रहेको छ भन्नुभयो । कार्यक्रममा सम्मानित प्रतिभाहरूका बारेमा विचार पोख्दै विशेष अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले अक्षरमार्गले नेपाली वाङ्मयमा उल्लेखनीय योगदान गरेका वाङ्मयसेवीहरूलाई सम्मानित गरेको विचार पोख्नुभयो । कार्यक्रममा साहित्यिकार सूर्यप्रसाद लाकोजू, कृष्णप्रसाद सिटौला रामसुन्दर देउजा लगायतले ब्यक्त गर्नुभएको थियो ।
सोही समारोहमा साहित्यकार सूर्यप्रसाद लाकोजुद्वारा सम्पादित कथामा समवेत स्वरहरू, लाकोजूकै घाम फुल्ने याम कविता संग्रह र मकर मेला अफ पनौतीको दोस्रो संस्करणको विमोचन भएको थियो । साही कार्यक्रममा कृष्णप्रसाद सिटौलाको मनकुसुम कविता संग्रहको लोकापर्ण समेत गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।