नेपाल प्रज्ञा–प्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै प्रमुख अतिथि राईले प्रदेश १ विविध जातजातिहरूको साझा फूलबारीजस्तो रहे पनि यसलाई किरात बाहुल्य क्षेत्रका रूपमा चिन्ने गरिन्छ, त्यसैले यसको चिनारीका रूपमा रहेका कोसी सभ्यता र किरात सभ्यतामध्येमा कुन बढी आधिकारिक, प्रामाणिक र न्यायसङ्गत चिनारी हो ? त्यस बारेमा यस गोष्ठीले छलफल चलाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान सबैको प्राज्ञिक काम गर्ने साझा थलो भएको हुनाले समय, स्थान र विषयगत अनुकूलतालाई हेरेर यसले विभिन्न ठाउँमा विभिन्न प्रकारका गोष्ठीहरू सम्पन्न गर्ने, विभिन्न विषयमा प्राज्ञिक अनुसन्धान गराउने र कृतिहरू प्रकाशन गर्ने गरेको जानकारी दिँदै परिवर्तित वर्तमान राज्यसंरचना र सामाजिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस सङ्गोष्ठीको विशेष अर्थ रहेको विचार व्यक्त गर्नुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले पछिल्लो समयमा गरेका कामका बारेमा जानकारी प्रस्तुत गर्दै देशका समग्र भूभागमा पुगेर त्यहाँका प्राज्ञिक सम्पदाहरूको खोजी, सङ्कलन र प्रकाशन गर्नु प्रतिष्ठानको मूलभूत लक्ष्य रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले प्रदेश नं. १ भाषिक, साहित्यिक तथा सांस्कृतिक दृष्टिले उल्लेखनीय रहेको हुँदा यहाँको भाषिक अवस्था, ऐतिहासिक वैशिष्ट्य, सांस्कृतिक सम्पदा, नेपाली समालोचनाको स्थिति, मैथिल जीवन दर्शन, किरात जनजीवन र लोकसाहित्य आदि जस्ता महत्त्वपूर्ण विषयहरूमाथि प्राज्ञिक विमर्श गरी एउटा निश्चित गन्तव्यमा पुग्ने र प्रतिनिधि कविता र गजल वाचनबाट नेपाली कविता र गजलको वर्तमान स्वरूप पहिचान गर्ने मूल अभिप्राय रहेको हुनाले यो सङ्गोष्ठी औचित्यपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रपछि दुई दिनसम्म चलेको गोष्ठी सत्रमा विभिन्न विषयमा छ ओटा कार्यपत्र, गोष्ठीपत्र तथा प्रवचनहरू प्रस्तुत गरिएका थिए । भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षता र प्राज्ञ सुभद्रा भट्टराईको सञ्चालनमा सम्पन्न पहिलो सत्रमा ‘प्रदेश नं १ मा बोलिने मातृभाषाको अवस्था’ विषयमा डा. तारामणि राईले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसमा अहिले नेपालमा १३२ ओटा भाषाका वक्ताहरू रहेको तथ्याङ्क भाषा ओयागमा रहेको र तीमध्येमा ११५ ओटा भाषा प्रदेश नं. १ मा बोलिने, तीमध्येमा धेरै भाषाहरू लोपोन्मुख अवस्थामा पुगेका हुनाले तिनको उचित संरक्षण गर्नुपर्ने कुरामा जोड दिइएको थियो । यस सत्रका सभाध्यक्ष डा. न्यौपानेले बोल्न छाड्ने हो भने नेपाली भाषा पनि मर्ने हुनाले नयाँ पुस्तामा मातृभाषाको हस्तान्तरण अनिवार्य रहेको विचार व्यक्त गर्नुभएको थियो ।

संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्रीको अध्यक्षता र प्रिन्स प्रमोद ढकालको सञ्चालनमा सम्पन्न दोस्रो सत्रमा ‘कोसी प्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदा’ विषयमा प्रा.डा. सोमप्रसाद खतिवडाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसमा प्रदेश नं. १ मा रहेका सम्पूर्ण धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूका बारेमा सचित्र जानकारी प्रस्तुत गरिएको थियो । यस सत्रका सभाध्यक्ष डा. खत्रीले यो प्रदेश सांस्कृतिक महत्त्वका दृष्टिले उल्लेखनीय रहेको हुनाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

पहिलो दिन साँझ समालोचक मिश्र वैजयन्तीको अध्यक्षता र कविता केशरीको सञ्चालनमा विशेष गजलसन्ध्या सम्पन्न भयो । उक्त गजल सन्ध्यामा मधु पोखरेल, होम सुवेदी, देवी पन्थी, सीमा आभास, किशोर कोइराला, सोम निरौला, सिर्जना सरोवर, ताराबहादुर बुढाथोकी, सविता बराललगायत ४२ जना गजलकारले आआफ्ना प्रतिनिधि गजलहरू वाचन गर्नुभएको थियो । यस सत्रकी सभाध्यक्ष मिश्र वैजयन्तीले गजल सिर्जनाका दृष्टिले पनि यो प्रदेश उल्लेखनीय रहेको र यहाँ वाचित गजलहरू वर्तमानका प्रतिनिधि आवाज भएको विचार व्यक्त गर्नुभएको थियो ।

दोस्रो दिन बिहानैदेखि गोष्ठी सत्र सञ्चालन भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायको अध्यक्षता र गोपाल निर्भीकको सञ्चालनमा सम्पन्न दोस्रो दिनको पहिलो सत्रमा ‘मैथिल जीवन दर्शन’ विषयमा रामरिझन यादव र शिवनारायण पण्डित ‘सिंगल’ले विशेष प्रवचन प्रस्तुत गर्नुभएको थियो । यस क्रममा उहाँहरूबाट मिथिला सभ्यता र गौरवको प्रभाव क्षेत्र प्रदेश नं. १ पनि रहेको जानकारी प्रस्तुत गरिएको थियो । यस सत्रका सभाध्यक्ष प्रा. उपाध्यायले याज्ञवल्क्य, गार्गी, मैत्रेयी, राजर्षि जनक, अष्टावक्र आदिसँग जोडिएको मैथिल दर्शनको सुदीर्घ परम्परा वर्तमानसम्म पनि चलिरहेको तर नेपाली भूमिमा नै प्रवर्तन भएका यी र यस्तै प्रकारका अनेकौँ दर्शनहरूलाई भारतीय दर्शन भनी पढाइने गरेको हुनाले यस प्रकारका पाँच दर्जन जति दर्शनहरूको सङ्कलन गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली दर्शन’ नामक बृहत् ग्रन्थ प्रकाशन गर्न लागेको जानकारी दिनुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेलको अध्यक्षता र हरि बरालको सञ्चालनमा सम्पन्न दोस्रो दिनको दोस्रो सत्रमा ‘प्रदेश नं १ मा नेपाली समालोचनाको स्थिति’ विषयमा दधिराज सुवेदीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस क्रममा नेपाली समालोचनाका क्षेत्रमा पनि प्रदेश नं. १ ले नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएको जानकारी प्रस्तुत गरिएको थियो । यस सत्रका सभाध्यक्ष डा. पौडेलले सिर्जना र समालोचना दुवै जनमुखी र समाजसापेक्ष हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको अध्यक्षता र हरि कट्टेलको सञ्चालनमा सम्पन्न दोस्रो दिनको तेस्रो सत्रमा ‘नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नं. १ को वैशिष्ट्य’ विषयमा प्रा.डा. टेकबहादुर श्रेष्ठले आफ्नो कार्यपत्र भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । यस क्रममा प्रदेश नं. १ को राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएका ऐतिहासिक तथ्यहरूका बारेमा जानकारी प्रस्तुत गरिएको थियो । यस सत्रका सभाध्यक्ष प्रा. पन्तले विश्वमा नै प्राचीन सभ्यताका रूपमा नदी सभ्यतालाई लिइने हुनाले यस क्षेत्रमा रहेको कोसी नदीको सभ्यताले प्राचीनतालाई सम्बोधन गर्ने र किरात सभ्यताले यस क्षेत्रको राजनीतिक तथा सामाजिक इतिहासलाई जीवन्त राख्ने कुरामा जोड दिनुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालको अध्यक्षता र प्राज्ञ हरिचन्द्र लावतीको सञ्चालनमा सम्पन्न दोस्रो दिनको चौथो सत्रमा ‘किरात जनजीवन र लोकसाहित्य’ विषयमा मधुराज केरुङले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस क्रममा प्रदेश नं. १ मा रहेका किरातसमुदायभित्र पर्ने राई, लिम्बू, सुनुवार र याख्खा जातिको जनजीवन र लोकसाहित्यका बारेमा उदाहरणसहित विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । यस सत्रका सभाध्यक्ष डा. नेपालले नेपालको प्रत्येक भूभागमा विश्वलाई वर्षौं पढाउन पुग्ने अनगिन्ती लोकसम्पदाहरू रहेको, त्यसमा पनि किरात बाहुल्य यस प्रदेशमा किरात जनजीवनको मौलिक विशेषताका साथै लोकसाहित्य र संस्कृतिमा आधारित मूर्त अमूर्त सम्पत्तिहरू पाइने हुनाले त्यसमाथिको विमर्श, खोजी र सङ्कलन कार्यमा सम्बन्धित सबै पक्षको ध्यान पुग्नुपर्ने विचार राख्नुभएको थियो ।

दोस्रो दिनको गोष्ठी सत्रपछि ‘प्रदेश विशेष कविगोष्ठी’को आयोजना गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र जीवन काफ्लेको सञ्चालनमा सम्पन्न उक्त कविगोष्ठीमा टीका घिमिरे, प्रतिभा पौडेल, रोशन परियार, टीका आत्रेय, केजी सुब्बा, सोम निरौला, रेजिना आपगाईं, मोक्ष खतिवडा, लक्ष्मी अच्युत ढुङ्गाना, खखेरा, सोमराज अभय, उमानाथ घिमिरे सागरलगायतका चार दर्जन कविहरूले आआफ्ना प्रतिनिधि कविता वाचन गर्नुभएको थियो । यस सत्रका सभाध्यक्ष डा. पौडेलले प्रदेश नं. १ कविता सिर्जनाका दृष्टिले उर्वर भूमि रहेको र यहाँ वाचित कविताहरूले वर्तमानको नेपाली कविताको प्रतिनिधि आवाज प्रस्तुत गरेको विचार व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त सङ्गोष्ठीको समापन समारोह प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य र संस्कृतिकर्मी खेम नेपालीको अध्यक्षतामा सम्पन्न भयो । उक्त समारोहमा प्रमुख अतिथि खापुङले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ निर्वाह गर्दै आएको र प्रदेश नं. १ मा आएर यस क्षेत्रको भाषिक, साहित्यिक तथा सांस्कृतिक गौरवलाई अझै माथि उठाउने काम गरेको विचार व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस प्रकृतिका कार्यक्रमहरू अन्य प्रदेशमा पनि गरिने योजना रहेको जानकारी दिनुभएको थियो भने सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सङ्गोष्ठी सम्पन्न गराउन सहयोग गर्ने प्रदेश नं. १ सरकार, विराटनगर महानगरपालिका, नोबेल अस्पताल, होटल एसियाटिक र सम्बन्धित सबैलाई आयोजक संस्थाका तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा याक्थुम प्रज्ञा–प्रतिष्ठान, फिदिम, पाँचथरका कुलपति राजेन्द्र जबेगु, साझा प्रकाशनका पूर्व महाप्रवन्धक होमप्रसाद गौतम र इलाम भाषा, साहित्य, कला प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले दुई दिने सङ्गोष्ठीको उपलब्धिका बारेमा आआफ्ना प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभएको थियो भने भारतीय जनलेखक सङ्घका महासचिव डा. महेन्द्रनारायण पङ्कजले यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । उक्त सङ्गोष्ठीमा प्रदेश नं १ का चौधवटै जिल्लाका भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र आदि क्षेत्रका ३०० भन्दा बढी प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरू र सर्जकहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको जानकारी नेपाल प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।