बालबालिकामाथि भइरहेको शोषण र दुर्व्यवहारलाई न्युनीकरण गर्न र साथसाथै जनचेतनास्तर बढाउने उदेश्यले यो चित्रकथा प्रकाशन गरिएको छ । यस चित्रकथाको लेखक प्रोफामिलिया हुन भने यसका चित्रकार डाग्मा ग्याइस्लर हुन्। यस चित्रकथाको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन्।

सबै छुवाइ एकनास हुँदैन। कतिपय अवस्थामा हामीले सामान्य ठाने पनि अरूले हामीलाई गलत नियत राखेर छोइरहेको हुन सक्छ। गोप्य अंग वा अप्ठ्यारो लाग्ने ठाउँमा हात हाल्नु र छुनु नराम्रो छुवाइ हो भने कसैले असल नियतले छोइरहेको छ भने त्यो राम्रो छुवाइ हो। केटा होस् वा केटी, शरीरका संवेदनशील अंगमा कसैले गलत नियतले छुन्छ भने त्यो नराम्रो छुवाइ हो। यस चित्रकथामा यस्तै राम्रो र नराम्रो छुवाइको चेतनासँगसँगै आफ्नो शरीरसम्बन्धी सीमाहरु कसैले उल्लङ्घन गरेको छ भने त्यसलाई गोप्य राख्नु हुँदैन भन्ने जानकारी पनि दिएको छ।

यस पुस्तकले बालबालिकालाई आफ्नो व्यक्तिगत शरीरका सीमाहरु छन् भन्ने कुरा बुझाएको छ। साथै कसरी हामी आफै सुरक्षित ढंगले बस्न सक्छौँ भन्ने अधिकारको कुरा पनि सिकाएको छ।

बालबालिकाको सुरक्षाका र जोखिम न्युनीकरणका साथै आत्मजागरणका लागि पनि यस पुस्तकले समाज र देशलाई सघाउने आशा राखेका छौ।