नेपाल स्रष्टा समाजका सदस्यहरूले शुक्रबार र शनिबार तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुर घुमफिर गरेका छन्। उनीहरू त्यहाँको सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गरेर काठमाडौँ फर्किएका हुन्।

‘हामी त्यहाँको होमस्टेमा बस्यौं। त्यहाँको मिठो खाना र आत्मीयताले प्रभावित बनायो’, कार्यक्रम संयोजक सुमन थापा ‘संगम’ले भनिन, ‘बन्दीपुर अध्ययन भ्रमण फलदायी बन्यो।’

भ्रमणमा २५ जना सहभागी थिए। उनीहरूलाई स्थानीय सामुदायिक होमस्टेमा स्वागत तथा बिदाई गरिएको थियो। बिदाईका बेला होमस्टे सञ्चालकहरूले फूलमालासहितत लोकगीत गाउँदै बिदाई गरेका थिए।

लेखकहरूले शुक्रबार पुरानो नेवार बस्ती, टुँडिखेल र रेशम खेती अवलोकन गरेका थिए भने शनिबार बिहान पुराना सम्पदाहरूको अवलोकन गरेका थिए।

शुक्रबार साँझ आयोजित कार्यक्रममा कवि–लेखकहरूले आ–आफ्ना रचना वाचन गरे। साहित्यकार नगेन्द्रराज शर्मालाई प्रमुख अतिथि बनाएर गरिएको रचना वाचन कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने कार्यक्रमको सञ्चालक थिए मधु पाठक।

अध्ययन भ्रमणमा समाजका अध्यक्ष विधान आचार्य, पुष्पप्रसाद लुइँटेल, विमल बैद्य, पवन आलोक र प्राडा गोविन्दमान सिंह कार्की डा.शान्तिमाया गिरी, दुर्गाकिरण तिवारी, जानू धितालसहितका स्रष्टाहरू सहभागि थिए।

शनिबार काठमाडौं फर्कने क्रममा संयोजक सुमनको संयोजनमा बस भित्रै कार्यक्रमको समिक्षा गरिएको थियो। सबैले कार्यक्रम उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका थिए।