आउँदो नववर्षको दोस्रो साता अर्थात् अप्रैलको २३ र २४ तारिखका दिन असमको तिनसुकीया निकटवर्ती जागुनमा देश-विदेशका नवीन प्रवीण साहित्यप्रेमी र कला-संस्कृतिप्रेमीहरूको एउटा साहित्य-संस्कृति समारोह भव्य रूपमा अनुष्ठित हुने भएको छ।

उक्त समारोहका लागि जागुनबासी नेपाली कला संस्कृतिप्रेमीहरूले एउटा स्वागतकारिणी समिति गठन गरेका छन् ।

समितिमा सभापति मुकेश रेग्मी, कार्यकारी सभापति खडानन्द ढकाल, उपसभापतिद्वय श्रीमती कान्ता रावत र भवानी भट्टराई, मूल सचिव खडानन्द दुलाल, सहसचिव केशव मिश्र, थानुराम शर्मा, दुर्गा कोइराला र रानी गुरूङ, कोषाध्यक्ष मोहन रिमाल, सांस्कृतिक सचिव भीम धमला, लोकनाथ पाण्डे, हरि दवाडी, मातृका अधिकारी,राम ढकाल र प्रभाकर नेउपाने रहनु भएको समाचारमा जनाइएको छ ।

उक्त साहित्य कला-संस्कृतिको महाकुम्भमा स्वागतकारिणी समितिको स्मारिका साथै खडानन्द दुलाल र पुरूषोत्तम दाहाल उपाध्यायको प्रयासमा प्रकाशित र मिलन बोहोरा र प्रा० देवीचरण सेढाईंको सम्पादनमा शताधिक रम्बासकारहरूको रम्बास सङ्कलन वर-पिपलको विमोचन र गान्तोक निवासी कवयित्री गीताश्री शर्माको मुक्तक सङ्कलन तिलस्मी, ओदालगढी बीटीआर असम निवासी रेवतीरमण सापकोटाको खोजमूलक वनस्पति विज्ञान साहित्य विधाको वनस्पति कथायात्रा, कथा, आधुनिक कविता आदिबारे लेखिएका कृतिहरूको पनि विमोचन हुन जाँदैछ।

स्वागतकारिणी समितिले उक्त समारोहलाई सफल तुल्याउन सबै जागरूक साहित्य कला-संस्कृतिप्रेमीहरूलाई अनुरोध गरेको छ।

 

ओदालगढी (असम)बाट रेवतीरमण सापकोटा