साहित्यकार आर. मानन्धरद्वारा रचिएका कविताको सङ्ग्रह ‘कवितामा आकाश’ प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो ।

कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास (४९) कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।

दोश्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तिस (३६) कवितात्मक रचनाहरु छन् । तेश्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तिस (३३) रचनाहरु प्रस्तुत भएका छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।

साहित्यकार अमर न्यौपानेले यस पुस्तकलाई आकाश–काव्य भनेका छन् ।

मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका थिए । यो उनको दोश्रो नेपाली कृति हो । नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन् ।

‘कवितामा आकाश’का रचनाहरुले आफ्नै विशिष्टतासहित अलग्गै प्रस्तुति दिएको छ, जुन विशेषता नेपाली साहित्यिक क्षेत्रमा सधैं स्मरणीय रहने छ ।