साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अनेसास जापानको ६२ औँ साहित्यिक शृङ्खलासाहित विविध कार्यक्रम सम्पन्न

Chovar Blues Mobile Size

अनेसास जापानले नेवा डाइनिङ सिनओकुबो टोकियोमा २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान, नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श गरी तीन सेसनमा कार्यक्रम सम्पन्न भएको हो ।

अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता, जापानका लागि नेपालका कावा राजदूत अम्बिका जोशीको भर्चुअल माध्यमबाट प्रमुख आतिथ्य, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गायक ईश्वर गुरूङ, अनेसास जापानका पूर्वअध्यक्ष गिरिजा गैरे, अनेसास जापानका सल्लाहकारहरू हारूहितो नोजु, सुमित गिरी र शरद गौचनलगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको कार्यक्रममा अनेसास जापानका वरिष्ठ उपाध्यक्ष अरूण पौडेलद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो ।

झन्डै ५ दर्जन स्रष्टा तथा साहित्यानुरागीको उपस्थिति रहेको कार्यक्रमको पहिलो सेसनमा युरेका पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको अमृत शर्मा ढकालको गीतिकृति ’लजालु पहाडहरू’माथिको विमर्श गरिएको थियो । उक्त सेसनमा पुस्तकमाथि दीप पाठक र कुमार सिम्खडाको टिप्पणी, संगिता कुवर र ग्रिष्मा पौडेलको प्रश्न तथा अनिल निर्दोष र गीतकार ढकालबिचको संवाद समेटिएको थियो । संवादको शिलशिलामा गीतकार ढकालले भने, ‘संगीत र स्वरबद्द सबै शब्द अमर गीत भैहाल्दैन, अमर गीत बन्नका लागि अमर शब्दकोअपरिहार्यता रहन्छ ।’

टिप्पणीकार द्वय पाठक र सिम्खडाले गीतकार ढकालका गीतमा अनुभूतिको विम्बात्मक भर्जिनिटी रहेको बताए ।

विगत लामो समयदेखि जापानमा संगठित भएर नेपाली भाषा, साहित्य र स्रष्टाको उन्नयनमा सक्रिय संस्था अनेसास जापानद्वाराआयोजित कार्यक्रमको दोस्रो सेसनमा अतिथिहरूद्वारा मन्तव्य राखिएको थियो ।प्रमुख अतिथि कावा राजदूत अम्बिका जोशीले मन्तव्य दिँदै ‘नेपाली नयाँ वर्ष २०७९ को अग्रिम शुभकामना तथा अनेसासका गतिविधिले नेपाली भाषा-साहित्य-संस्कृतिको उन्नयन र नेपालीमनहरूलाई जोड्ने पुलको रूपमा काम गरेको’ बताए । मन्तव्यका क्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले आगामी दिनमा अनेसास जापानसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार मोहन घले र गायक ईश्वर गुरूङले अनेसास जापान गतिविधिका हिसाबले अनुकरणीय संस्था रहेको जानकारी दिए ।

कार्यक्रमको अन्तिम सेसनमा संगीता कुँवर, ग्रीष्मा पौडेल, गिरिजा गैरे, सुमित गिरी, अमरदेव बास्तोला, मिनराज बास्तोला, दीपपाठक, विष्णु पौडेल, मनोज मौसम केसी, अरूण पौडेल, गगन गंगालगायत लगभग १ दर्जन बढी स्रष्टाले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए ।

४ घन्टाजति चलेको कार्यक्रममा समापन मन्तव्य दिँदै संस्थाका अध्यक्ष रविन शर्माले कोरोना महामारिका कारण लामो समयपछि यसरी भौतिक कार्यक्रम गर्ने अवसर जुराइदिएकोमा गीतकार अमृत शर्मा ढकाल र कार्यक्रम सफल पार्न उपस्थित भइदिने सबैप्रति आभार व्यक्त गरे ।

संस्थाका सचिव अनिल निर्दोषको सञ्चालनमा रहेको उक्त कार्यक्रम पृथक् र सुन्दर थियो ।

प्रतिक्रिया
Loading...