काठमाडौँ / ‘फिलिङ्गो’ उपन्यास लोकार्पण भएको ठीक एक वर्षको दिन यस उपन्यासले ११,१११/ राशिको २०७८ सालको “टोपलीदेवी स्मृति पुरस्कार” सहित सम्मानपत्र प्राप्त गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरियो ।

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका प्राध्यापक पूर्णप्रसाद अधिकारीले आफ्ना माता पिताको सम्मानमा २०६८ सालमा बलराम वाङ्मय प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

उक्त वाङ्मय प्रतिष्ठानमा माता-पिताको नाममा बलराम स्मृति पुरस्कार र टत्रपलीदेवी स्मृति पुरस्कार स्थापना गरिएको छ ।

बलराम वाङ्मय पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेलको साहित्यिक योगदानमाथि प्रदान गरिएको थियो । पुरस्कृत दुवै व्यक्तित्वलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

माता-पितालाई अमर बनाउन यस्तो पुरस्कार स्थापना गर्नु र साहित्यका साधकलाई अर्पण गरी हौसला प्रदान गर्नु एकदमै अनुकरणीय कार्य रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज भट्टराईले व्यक्त गर्नुभयो ।

नियात्राकार रुकु कार्की र राजेन्द्रमान डंगोलले पुरस्कृत व्यक्तित्वलाई बधाई एवम् शुभकामना मन्तव्य दिनुभएको थियो भने पुरस्कृत व्यक्तित्वले पनि पुरस्कारबाट आफूलाई हौसला मिलेको भन्दै आगामी दिनमा अझै बढी मिहिनेत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्राध्यापक कपिल अज्ञातले कार्यक्रम सन्चालनसहित पुरस्कृत स्रष्टाकाे परिचयबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रम बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्री पूर्णप्रसाद अधिकारीको सभापतित्वमा भएको थियो । यो पुरस्कार पहिलोपटक नारी साहित्यकारलाई अर्पण गर्न पाउँदा गर्वबोध भएको कुरा उहाँले बताउनुभयो । कार्यक्रम ओरियन्ट कलेज वसुन्धरामा सम्पन्न भएको थियो ।