भरतपुर, चैत १२ / पोखराका मुक्तककार दीपक समीप र मकवानपुरका गजलकार विश्वनाथ सञ्जेलले चितवनमा आएर रचना वाचन गरेका छन् ।

समीपको मुक्तकसङ्ग्रह `अक्षर अक्षरमा देश´ र सञ्जेलको गजलसङ्ग्रह `फर्कियौ किनारबाट´माथि शनिबार भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा भएको विमर्श कार्यक्रमका अवसरमा स्रस्टाहरूले रचना वाचन गरेका हुन् ।

कार्यक्रममा सञ्जेलले एक दर्जन गजल प्रस्तुत गरे । प्रणय भावमा लेखिएका गजलसँगै सञ्जेलले समसामयिक बिषयमा लेखिएका गजल पनि सुनाए ।
त्यसैगरी समीपले करिव डेढ दर्जन मुक्तक प्रस्तुत गरे । समीपले समसामयिक बिषयमा लेखिएका चोटिला मुक्तकहरू सुनाएका थिए । राजनीतिक विसंगतिमाथि लेखिएका रचना प्रस्तुत भैरहँदा कार्यक्रममा उपस्थित भएका भरतपुर महानगरपालिका वडा नम्बर-२ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले चाख मानेर रचना सुनेका थिए ।

कार्यक्रममा बोल्दै श्रेष्ठले स्रस्टाका रचनाले जनप्रतिनिधिलाई राम्रो ढंगले जनसेवा गर्न प्रोत्साहन मिलेको बताए । मुक्तकसङ्ग्रहमाथि समीक्षक रमेश प्रभातले टिप्पणी राखे । समीपका मुक्तकमा स्रस्टाले आफ्नो मुलुकको बारेमा गरेको चिन्तन समेटिएको बताए ।

गजलसङ्ग्रहमाथि बोल्दै समीक्षक शान्ति शर्माले सञ्जेलको सङ्ग्रहमा विभिन्न धारका गजलहरू समेटिएको बताइन् । कार्यक्रममा रचना वाचनपछि मुक्तक तथा गजल संरचना र लेखिँदै आइएको परम्पराका बारेमा कवि सुरेन्द्र अस्तफलले स्रस्टाद्वयलाई प्रश्न पनि गरेका थिए ।

प्रमुख अतिथि गायत्री श्रेष्ठले गजल र मुक्तकमा प्रेम, मानवीयता, विसंगति सबै समिटिएको बताउँदै चितवनमा बसेर राम्रा गजल र मुक्तक सुन्न पाएको बताइन् । सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रमलाई रामेश्वर पुस्तकालय तथा वाचनालयका बालकृष्ण थपलियाले अध्यक्षता गरेका थिए ।