अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले विश्व महिला सशक्तीकरण सम्मेलन गर्ने कार्यक्रम तयार पारेको छ ।
इन्सको महिला सशक्तिकरण सम्बन्धी यो तेस्रो सम्मेलन हुनेछ ।

इन्सले आगामी चैत १२ र १३ गते (मार्च २६ र २७) मा हुन गइरहेको सम्मेलनलाई पाँच चरणमा विभाजन गरेको इन्स महिला समितिका महासचिव सुभद्रा भण्डारीले जानकारी गराउनुभएको छ । चैत्र १२ गतेको कार्यक्रमलाई पहिलो सत्र, कविता सत्र र दोश्रो सत्र गरी तीन चरणमा विभाजन गरिएको छ भने १३ गतेको कार्यक्रमलाई पहिलो र दोश्रो सत्र गरी दुई भागमा विभाजन गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषीले बताउनुभयो ।

यसपालि पनि इन्सले विश्वमा रहेका सशक्त महिलाहरुको उपस्थितिमा सम्मेलन गर्न लागेको हो । वरिष्ठ समाजसेवी भद्राकुमारी घलेको प्रमुख अतिथ्यता रहने कार्यक्रममा दुई जना नेपाली मूलका महिला र दुई जना अन्तर्राष्ट्रिय महिला सशक्तिकरणका विशेषज्ञ तथा एक दर्जन सुप्रसिद्ध रचना वाचकलाई सहभागीता गराएर सम्मेलन गरिने इन्स महिला समितिका अध्यक्ष डा. रेणुका सोलुले जानकारी गराउनु भयो ।

सयौँ स्रोताहरू संलग्न हुने यो सम्मेलन हजारौं दर्शकले प्रत्यक्ष प्रसारण सुन्ने र हेर्ने अपेक्षा गरिएको संस्थाका अन्तर्राष्ट्रिय महासचिव अर्जुन श्रीले व्यक्त गर्नुभयो ।

इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेका अनुसार विश्व महिला सशक्तिकरण सम्मेलनमा प्रमुख वक्ताको रुपमा नवपर्वतन र मानव सक्षमतासम्बन्धी पेन्सिलभेनिया विश्वविद्यालयमा विद्यावारिधिलाई प्राध्यापन गर्ने प्रा.डा. चारु शर्मा रहनुहुनेछ । नेपालको लोकदोहरीमा संलग्न आत्मीयता र राजनीतिका बारेमा विद्यावारिधि गर्नुभएकी प्रा. डा. आना स्टर अर्को वक्ता रहनुहुनेछ । विद्यावारिधिमा अध्यापन गराउने आनाले नेपाल र दक्षिण एसियाको विषयमा विद्यावारिधि गर्न चाहनेहरुका लागि आवश्यक सहयोगसमेत गर्दै आउनुभएको छ ।

त्यसैगरी, कार्यक्रममा सिक्किम विश्वविद्यालयकी प्रा.डा. कविता लामा अर्को वक्ताको रुपमा रहनुहुनेछ । नेपालबाट महिला स्वास्थ एवम् सामान्य चिकित्सा विज्ञ डा. निजिना ताम्राकार, सामाजिक अभियान्ता नजबुल खान, अमेरिकाकी डा. बार्बरा निम्री अजिज, जर्मनीकी डा. लेह पनि अन्य वक्ता तथा वाचकका रुपमा रहने अध्यक्ष घिमिरेले उल्लेख गर्नुभयो ।