सुमन पोख्रेल

विन्द्या सुब्बा

श्री बबरसिंह, देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति पुरस्कार सम्मान २०७८ आख्यानकार कवि विन्द्या सुब्बालाई प्रदान गरिने भएको छ ।

पाँचदशक भन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र आख्यान विधामा दिएको योगदानका लागि साहित्यकार सुब्बालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

यसै गरी तीन दशकभन्दा बढी समयदेखि साहित्यको कविता विधा सिर्जना र अनुवादमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा दिएको योगदानका लागि कवि अनुवादक सुमन पोखरेललाई २०७८ सालको बबरसिंह थापा स्मृति पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।

पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र पचीस हजार रहेको छ । साहित्यकार प्रमोद प्रधान, विवश पोखरेल, दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कारबाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काँइला, चुडामणि बन्धु, तुलसी दिवस, मन्जुल पुरस्कृत भइसक्नु भएको छ ।

यसैगरी बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा . डा राम बहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा, गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री लगायतका स्रष्टाहरू पुरस्कृत र सम्मानित भैसकेका छन् ।

उक्त पुरस्कार आगामी २०७८ साल बैशाख तीन गते विराटनगरमा समर्पण गरिने छ ।