मधेस प्रदेशमा बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत पढ्ने बानी विकास गराउन अमेरिकास्थित गिभिङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ।

३ देखि ५ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरी किताब वितरण गरिएको हो । बालिकाहरूलाई आफ्नै मातृभाषामा पढ्न सहज होस् भन्ने उदेश्यले कथालयले मैथिली भाषाका किताब वितरण गरेको हो।

मैथिली भाषाका किताब सोनीके झोरा र समुन्द्र नामक चित्रकथा पहिलो चरणमा जनकपुरको वडा नं २ र ७ मा एक हजार जना बालिकालाई वितरण गर्ने गरी तयारी थालिएको छ। दुइटै वडामा जम्मा हजार जना बालिकालाई किताब हस्तान्तरण गरिनेछ।

कथालय इन्क र मिथिला फाउन्डेसनको सहकार्यमा जनकपुर साहित्य महोत्सव २०७८ मा गगन थापाबाट किताब हस्तान्तरण गरिएको थियो । सामाजिक संस्था गिभिङ आशा र बेथ ब्रुस्टरको सहयोगमा पुस्तक हस्तान्तरण गरिएको हो ।