पोखरा, चैत्र ५ / नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ बाट नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकाल पुरस्कृत हुनुभएको छ । वि.सं. २०७७ सालमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा लिखित पुस्तकमध्ये उनको ‘महाभारतमा के छ ?’ कृति उत्कृष्ट कृतिका रूपमा छनोट भएको थियो । चैत्र ५ गते शनिबार पोखरामा आयोजित एक समारोहमा ढकाललाई रु २५,००० राशिको सो पुरस्कार अर्पण गरिएको हो । सोही अवसरमा नेपाली पत्रकारिता, शिक्षा र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु-याउनु भएका व्यक्तित्व केशवराज पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।

पुरस्कार अर्पण समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै कवि तीर्थ श्रेष्ठले सिर्जनाको साधना हुलमुलमा नहुने कुरा उल्लेख गर्नुभयो । चहलपहलका आधारमा उठ्न खोज्नु लेखक बन्नु नभई लेखक बनेको भ्रम मात्र पाल्नु हो । सिर्जना एकान्तमा हुर्कने उल्लेख गर्दै श्रेष्ठले मतिप्रसाद ढकालको लेखन एक ऋषिले गर्ने साधना झैँ एकान्तमै हुर्केकाले उहाँको लेखन निकै उत्कृष्ट रहेको उल्लेख गर्नुभयो । कुनै कुनै पुरस्कार र सम्मानले स्वयं संस्था सम्मानित हुने बताउँदै आजको यो कार्यक्रमले सोही संयोग सिर्जना गरेको बताउनुभयो । अग्रज स्रष्टाको सम्मान तथा पुरस्कारले कृतज्ञताको संस्कार स्थापना गरी नयाँ पुस्तालाई समाज सधैँ जीवित रहेको ज्ञान दिने हुँदा यस प्रकारका कार्यक्रम निरन्तर चल्नुपर्नेमा जोड दिनुभयो । सर्जकले आफ्नो सिर्जना र जीवनमा तादात्म्य निर्माण गर्नुपर्ने उल्लेख गर्दै सिर्जनालाई जीवन निरपेक्ष बनाउन नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली लेखक संघका महासचिव डा.रत्नमणि नेपालले लेखक संघले सर्जकहरूलाई निरन्तर सिर्जनामा लाग्ने प्रेरणा दिन विभिन्न कार्यक्रम गर्ने कार्यमा सधैँ जोड दिँदै आएको उल्लेख गर्नुभयो । आगामी समयमा पनि केन्द्रदेखि जिल्लासम्म निरन्तर जागरणका कार्य गर्दै जाने कुरामा सचेत रहेको जनाउनुभयो ।

पुरस्कृत व्यक्तित्व डा.मतिप्रसाद ढकालले पुरस्कारका पछाडि लागेर आफूले सिर्जना नगरेको बताउँदै आफ्ना लागि सिर्जना नै एक मात्र धर्म भएको उल्लेख गर्नुभयो । आफ्नो जीवनको अंश चिन्नु, निरन्तर लेख्नु र स्वतन्त्र ढङ्गले लेखिरहनु नै एक सर्जकको दायित्व भएको बताउँदै उहाँले निरन्तरको साधना गर्नाले प्रतिफल अवश्य प्राप्त हुने, पथभ्रष्ट हुँदै गएको समाजमा सत्पात्र र सत्मार्ग पहिल्याउन निकै गाह्रो हुने तर यसका लागि सर्जकहरूले निरन्तर आफूलाई परिष्कार गर्दै साधनामा लाग्नुपर्ने बताउनुभयो । सम्मानित व्यक्तित्व केशवराज पराजुलीले समयले कसैलाई नपर्खने उल्लेख गर्दै समयसँगै हिँड्न प्रयास गर्नुपर्ने जनाउनुभयो ।

सो अवसरमा पुरस्कृत र सम्मानित व्यक्तित्वका बारेमा परिचय प्रस्तुत गर्दै पुरस्कार छनोट समितिका संयोजक डा.ईश्वरमणि अधिकारीले पूर्वीय दर्शनको महत्त्वपूर्ण कृतिका रूपमा ‘महाभारतमा के छ ?’ र प्रजातान्त्रिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताका प्रखर हिमायती व्यक्तित्वका रूपमा पराजुलीलाई छनोट गरिएको जानकारी दिनुभयो । “प्राप्त कृतिहरूको गहन अध्ययन गरी उत्कृष्ट कृतिका रूपमा पुस्तक छनोट गरिएको र पोखरेली परिवेशमा रहेर प्रेरणादायी जीवन बाँचेका पराजुलीलाई छानिएको हो,” उहाँले भन्नुभयो । उहाँले लेखकको लेखकीय धरातल र सम्मानित स्रष्टाको जीवनका केही महत्त्वपूर्ण आयामलाई प्रष्ट पार्नुभएको थियो ।

उक्त कार्यक्रमकै अवसर पारी लेखक संघका आजीवन सदस्यद्वय डा.ईश्वरमणि अधिकारी र डा.भूमिराज बस्ताकोटीलाई विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भएकोमा थप प्राज्ञिक उचाइको कामना गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसअघि सो पुरस्कार दीपाञ्जली उपन्यासका लागि स्याङ्जाली सर्जक सरोज अर्याललाई अर्पण गरिएको थियो । पुरस्कारका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी संस्थाले पुरस्कार अर्पण गर्दै आएको छ । पुरस्कार स्थापनाका बारेमा निवर्तमान अध्यक्ष गणेश शर्माले जानकारी गराउनु भएको थियो । संस्थाका सचिव कमल पौडेल अथकले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रीता अधिकारीले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सञ्जीव पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।