डा.मतिप्रसाद ढकाल

पोखरा, चैत १ / नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ ।

गत शुक्रबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणमा कार्यसमितिसहितको सहभागितामा केही उत्कृष्ट कृतिहरू छनोट गरिएको र दोस्रो चरणमा छनोट समितिलाई जिम्मा लगाइएका कृतिहरूको गहन अध्ययन गरी ‘महाभारतमा के छ ?’ कृतिलाई छनोट गरिएको संयोजक अधिकारीले बताउनुभयो ।

‘निबन्धात्मक रूपमा महाभारतका गहन विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको सो कृतिमा विशेषतः नीतिपरक निबन्धहरू समेटिएका छन्,’ अधिकारीले भने । वि.सं. २०७७ सालभरिमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिमध्येबाट सर्वोत्कृष्ट कृति छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । आगामी चैत्र ५ गते एक समारोहका बिच सो पुरस्कार अर्पण गरिने संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक ढकाल विगत लामो समयदेखि लेखनमा सक्रिय हुनुहुन्छ । पूर्वीय साहित्य र दर्शनमा विशेष रुचि राख्ने उहाँ भाषा सम्पादकका रूपमा पनि विभिन्न ठाउँमा आबद्ध हुनुहुन्छ । उहाँले २०७६ सालदेखि पठन संस्कृति अभियानसमेत सञ्चालन गर्दै आउनु भएको छ । ढकाल नेपाली भाषाको शुद्धीकरण अभियानमा पनि निकै सक्रियतापूर्वक संलग्न रहँदै आउनु भएको छ ।

संस्कृत विश्वविद्यालयबाट शास्त्री, व्याकरणचार्य र विद्यावारिधि ढकाल त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुनुहुन्छ । बागलुङमा जन्मनु भएका ढकाल हाल नवलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । ढकाल साहित्यपोस्टका भाषामाथि लेख्ने नियमित स्तम्भकारसमेत हुनुहुन्छ ।

वि.सं. २०७६ सालमा स्थापित यो पुरस्कारको राशि रु. २५,००० रहेको छ । साहित्यकार डा.ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार दीपक समीप, लेखक रीतादेवी कँडेल, संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्मा, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ सदस्य हुनुहुन्छ ।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअगाडि स्याङ्जाली स्रष्टा सरोज अर्यालद्वारा लिखित उपन्यास कृति ‘दीपाञ्जली’ लाई प्रदान गरिएको थियो । साथै संस्थाले अर्को वर्षको पुरस्कारका लागि वि.सं. २०७८ मा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिहरू सङ्कलन गर्ने कार्यको जिम्मेवारी संस्थाका सह–सचिव प्राञ्जललाई प्रदान गरेको पनि पौडेलले जानकारी दिनुभयो ।

साथै उक्त अवसरमा विगत लामो समयदेखि पोखरामा रहेर साहित्य, दर्शन, राजनीति र पत्रकारितामा विशिष्ट योगदान पु¥याउनुहुने प्रजातान्त्रिक आन्दोलनका एक अगुवा केशवराज पराजुलीलाई विशिष्ट सम्मान अर्पण गरिने कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो ।