यो वर्षदेखि दुई कृतिलाई प्रदान गर्ने ५०–५० हजार रुपियाँको सम्मानका लागि चैतभरमा आफ्नो कृति साहित्यपोस्टको कार्यलयमा बुझाउन व्यवस्थापन विभागले नवोदित लेखक तथा प्रकाशकहरूलाई अनुरोध गरेको छ । यसअघि नै पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा यो वर्ष दुईवटा पुस्तकका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने सूचना साहित्यपोस्टले सम्प्रेषण गरेको थियो ।

साहित्यपोस्टका प्रधानसम्पादक कोइरालाका अनुसार योपटक वर्षभरि निस्किएका काव्य (कविता, गजल, मुुक्तक, हाइकुु आदि) सङ्ग्रहबाट एकजना कवि र गैरकाव्य सङ्ग्रह (कथा, उपन्यास, निबन्ध, नियात्रा, नेपाली भाषा र साहित्यसम्बन्धी अध्ययन अनुसन्धानात्मक कृतिहरु आदि) मध्येबाट एकजना स्रष्टालाई ५०–५० हजार नगदका साथ सम्मान गर्न लागिएको हो ।

पुराना लेखक कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु भए पनि नवोदित लेखकका रचनालाई स्थान दिने र उनीहरुलाई सम्मान दिने संस्था र सञ्चारमाध्यमहरू नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुुरु गरेको जनाएको छ । नयाँ लेखकलाई भाषा र साहित्यको क्षेत्रमा लाग्न प्रेरणा दिने उदेश्यले एक लाख रुपैयाँको नगदका साथमा ताम्रपत्रसहित सार्वजनिक सम्मान गर्न लागिएको हो ।

साहित्यपोस्ट व्यवस्थापन समूहका अनुसार लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशन भएका कृतिलाई यसमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तकको दर्ता शूल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले आफ्नो पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारीसहित तीन प्रति कृति साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराउनु पर्ने छ ।

पहिलो पुरस्कार साहित्यपोस्ट उत्तम काव्य पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।

‘कवि भएकाले लेखेर मात्र होइन, केही ठोस सेवा गरौँ भन्ने मनमा लागिरहेको थियो । यस्तो बेलामा साहित्यपोस्टले पहिलो कृतिमार्फत् साहित्य क्षेत्रमा प्रवेश गर्ने नयाँ कविलाई सम्मान गर्न चाहने साहित्य सेवीको खोजी गरिरहेको छ भन्ने सुन्दा मलाई अपार हर्ष लाग्यो ।’ कवि भौकाजीले भन्नुभयो, ‘पुराना स्रष्टालाई खोजी खोजी सम्मान गर्ने परम्परा भए पनि नयाँ कविलाई पनि सम्मान गर्नुुपर्छ भन्ने सोच मेरा लागि नवीन लाग्यो । त्यसैले पनि यो अभियानमा म पनि जोडिएको हुँ ।”

दोस्रो पुुरस्कार साहित्यपोस्ट उत्तम कृति पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

‘साहित्यसँग मेरो नाता पारिजातसँगको सङ्गतबाट भयो । उहाँकै प्रेरणाले योगमायाका विषयमा लामो समय अध्ययन पनि गरेँ । अहिले साहित्यबाट टाढा भएका बखत केही गरौँ भन्ने चाहना भएका बेला साहित्यपोस्टको नवलेखकलाई सम्मान गर्ने प्रस्तावलाई स्वीकार गरेको हुँ ।’ पन्तले भन्नुभयो, ‘यो पुरस्कारले नवलेखकहरुलाई प्रोत्साहन गर्न सक्यो भने आफूलाई भाग्मानी सम्झनेछु ।’

साहित्यपोस्टले गएको वर्षदेखि यो अभियान सुरु गरेको हो । अघिल्लो वर्ष एक जना लेखक र उक्त लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप केदार वाशिष्ठको पहिलो कृति ‘नेपाल विद्या’लाई ५० हजार नगदका साथ ताम्रपत्रले विभूषित गरेको थियो ।

अघिल्लो वर्ष एक जनालाई मात्र सम्मान गर्दा अत्यन्तै थोरै अङ्कले युवापुस्ताका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि दुई लेखकलाई सम्मान गर्ने योजना बनाएकाे साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालाले जनाउनुभएकाे छ । कोइरालाले भन्नुभयो, ‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटक २ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’

पुरस्कारको पहिलो सर्ट लिस्ट २०७९ साल वैशाख ५ गतेसम्म तयार हुनेछ । कुनै प्राविधिक समस्या नआए पुरस्कार वितरण तथा सम्मान कार्यक्रम वैशाख २५ गते साहित्यपोस्टको वार्षिक उत्सवका दिन गरिने योजना रहेको साहित्यपोस्ट व्यवस्थापन समितिले जनाएको छ ।

लेखक एवं प्रकाशकहरूले साहित्यपोस्ट कार्यालयको ९८४९०७०५७१ वा ९८४९८६०८२७ मा सम्पर्क गरेर नयाँ पुस्तक एवं नवलेखकसम्बन्धी जानकारी गराइदिन हुन पनि व्यवस्थापन समितिले अनुुरोध गरेको छ ।