डि जि शर्मा
सगरमाथा साहित्य प्रतिष्ठानको नेपाल शाखाको अध्यक्षमा बाँकेका साहित्यकार बुद्धिबल श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आइतबार बसेको भर्चुअल बैठकले श्रेष्ठलाई प्रतिष्ठानको नेपाल शाखाको नयाँ अध्यक्षका रुपमा सर्वसम्मत चयन गरेको हो ।
तात्कालीन अध्यक्षले राजिनामा दिनु भएपछि नेपाल शाखाको अध्यक्ष पद खाली रहेकामा करिब एक वर्षदेखि सो पदमा कसैलाई चयन गरिएको थिएन भने अध्यक्षको राजिनामासँगै शाखा पनि क्रियाशील बन्न सकिरहेको थिएन ।
प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् नेपाल इन्चार्ज अजित क्षेत्रीले नेपाल शाखाको नयाँ अध्यक्षको रुपमा साहित्यकार श्रेष्ठको नाम प्रस्ताव गर्नु भएको थियो । बैठकले सर्वसम्मतिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
नेपाल शाखाका नव-नियुक्त अध्यक्ष श्रेष्ठ नेपालगञ्ज निवासी हुनुहुन्छ । वि.सं. २०४८ सालको राष्ट्रव्यापी कविता प्रतियोगितामा तृतीय हुनु भएका कवि श्रेष्ठको वातावरण लघुकाव्य २०४८ प्रकाशित छ ।
नेपाल सरकारका सेवा निवृत्त वन अधिकृत श्रेष्ठ कविता, लेखका अलावा वातावरण साहित्य अध्ययन र लेखनमा रुचि राख्नुहुन्छ ।
शाखा अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ ।
अध्यक्षबाहेक अन्य पदाधिकारी भने चयन भएको छैन । छिट्टै पदाधिकारी एवम् कार्यसमिति चयन हुने केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिनुभयो ।
अनुभवी साहित्यकार श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको नेपाल शाखाले आगामी दिनमा नेपाली साहित्यको श्रीवृद्धि र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले विश्वास व्यक्त गर्नुभयो । बैठकले अन्य विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।