आख्यानकार आनन अच्युतको नयाँ उपन्यास ‘झञ्झावात’ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमबीच शनिबार सार्वजनिक भएको छ ।

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने, प्रकाशक तथा सम्पादक सूर्य बिसी, आस्था केसी, लक्ष्मी अर्याल, रामचन्द्र सिग्देल लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

‘उपन्यासको भाषा निकै राम्रो र तानिरहने खालको छ । परदेशमा बसेर लेखकले नेपाली साहित्यका लागि काम गर्नु निकै सुखद कुरा हो,’ प्रमुख अतिथि विजय चालिसेले भन्नुभयो ।

समीक्षक डा. अम्बिका अर्यालले उपन्यासमा सशस्त्र युद्ध र प्रेमको कथा रहेको धारणा राख्नु भएको थियो । कौतुहलताको राम्रो प्रयोग गरिएको भन्दै उहाँले पुस्तकका केही कमजोरीबारे समेत प्रष्ट पार्नु भएको थियो ।

त्यसैगरी अर्का वक्ता दामोदर न्यौपानेले छोटा वाक्य, मीठा शब्द र सुन्दर अन्त्य रहेकाले उपन्यास राम्रो बनेको धारणा राख्नु भएको थियो ।

उपन्यासकार आननको यसअघि वासन्ती प्रेम नामक उपन्यास प्रकाशित छ ।

कार्यक्रमको सहजीकरण पत्रकार आस्था केसीले गर्नु भएको थियो ।

बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको २०० पृष्ठको यस पुस्तकको मूल्य ३५० तोकिएको छ ।