हाम्रो साहित्यिक माहोल र व्यवसायिक प्रकाशन गृहहरू काठमाडाैँ केन्द्रित छन् । तर नेपाली साहित्यको बजार केन्द्रबाट माेफसल हुँदै प्रवाससम्म फैलिएको छ । र, उल्लेख्य मात्रामा माेफसल र प्रवासबाट पनि पुस्तकहरू प्रकाशित हुँदै आएका छन् । के कति साहित्यकारहरू पुस्तक प्रकाशनकै लागि माेफसल र प्रवासबाट काठमाडाैँ आउने पनि गरेका छन् ।
यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । नेपाली जनजातीय संस्कार र संस्कृतिदेखि बोध, सृजना र सम्पादनसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. नेपाली जनजातीय संस्कार र संस्कृति – श्रीराम श्रेष्ठ
खोज-अनुसन्धानमा आधारित श्रीराम श्रेष्ठको महत्त्वपूणर् कृति हो – नेपाली जनजातीय संस्कार र संस्कृति । यो ग्रन्थमा नेपालमा सदियौँदेखि बसोबास गर्दै आएका बीसवटा जातिहरुका परिचय, एतिहास र वर्तमान्को चित्रण गरिएको छ । पुस्तकमा “धनकुटेली आठपहारिया राईको जनजीवन”, “समाजदेखि विस्थापितः कुमाल जाति”, गुरुङ जाति र तिनको विवेचना”, “भोकमरीको चपेटामा चेपाङहरु”, “तामाङ जातिको सङ्क्षिप्त परिचय, इतिहास र संस्कारहरु”, “संस्कृतिले सम्पन्नः थारु”, “दनुवार जातिको सङ्क्षिप्त परिचय”, “दराई (दरै) जातिको सामाजिक संस्कार”, “धिमाल एक सर्वेक्षण”, “पहरीहरुको संस्कार एक अध्ययन”, “अन्धविश्वासको घेरामा बराम जाति”, “अति सोझा बलामी जाति”, “विश्वकै वीर मगर”, माझी (बोटे) जातिः लघु परिचय”, “मेचे जातिको धार्मिक एवम् सामाजिक संस्कार”, “शेर्पा जातिको संस्कृति र संस्कार”, “सतार समाज र संस्कृति” र “सामाजिक संस्कारका परिवेशमा हायु” गरी २० वटा जातिका विविध पक्षलाई कृतिमा सङ्ग्रहित गरिएको छ ।
“नेपालका विभिन्न विशेषतामध्ये जातिको विविधता पनि एक हो । आ-आफ्ना संस्कार र संस्कृतिले युक्त यी जातिहरु नेपालको विविधतामा मियो भएर रहेका छन् ।”, पुस्तकका बारेमा प्रा. दिनेशराज पन्त लेख्छन्, “श्रीराम श्रेष्ठको नेपाली जनजातीय संस्कार र संस्कृति नाम पुस्तकमा बीस जातिका संस्कार र संस्कृतिको विषयमा राम्रो प्रकाश पारिएको छ । चाखलाग्दो ढंगले लेखिएको यस पुस्तकले श्रीराम श्रेष्ठको लेखन कौशललाई त देखाएको छ नै साथै यी जातिका विशेषताको परिचयका माध्यमबाट नेपाली वाङ्मयलाई समृद्ध पार्ने काम पनि गरेको छ ।
पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो । ५ सय १२ पृष्ठमा फैलिएको कृतिको नेपाली मूल्य एक हजार रुपियाँ रहेको छ ।
२. अभियन्ता – बद्रीप्रसाद खतिवडा
कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर प्रजातन्त्रको पुनस्र्थापनाका लागि आन्दोलनमा होमिएका बद्रीप्रसाद खतिवडाको जीवनी हो, “अभियन्ता” । उनले राजनीतिका अलवा मानवअधिकार, शिक्ष, वातावरण र छुवाछुतका क्षेत्रमा अभियन्ताका रुपमा महत्त्वपूणर् योगदानसमेत गरेका छन् ।
“उतिबेला राजा वीरेन्द्रलाई अचनाक जनमतको घोषणा गर्नुपर्ने बाध्यात्मक स्थिति देखिने खालको कुनै उल्लेखनीय घटनाहरु थिएनन् । राजनीतिक दलहरु प्रतिबन्धित थिए ।”, पुस्तकको लेखकीयमा जनमत सङ्ग्रहको बारेमा खतिवडा लेख्छन्, “…राजनीतिक गतिविधि शून्य रहेको अवस्थामा २०३३ सालमा भारत प्रवास गएका नेता बीपी कोइराला र गणेशमान सिंह पहिलेको अडानलाई छाडेर राजासँग मेलमिलापको एकतर्फीय घोषणा गरेर राष्ट्रियता जोगाउने आवरणमा नेपाल प्रवेश गरे ।”
खतिवडा वर्तमान् स्वास्थ्य मन्त्री विरोध खतिवडाका बुबा हुन् । पुस्तकमा “… मेरो आँखामा बुबाको चित्र” शीर्षकमा मन्त्री खतिवडा लेख्छन्, “बुबा र मबिच समानता के थियो भने, बुबालाई पनि त्यहाँको आन्दोलन यहाँ सल्काउन मन लागेको, मेरो दिमागमा पनि ठीक यस्तै कुरा आइरहेको थियो । सायद हामी दुईको शरीरमा एउटै रगत बगिरहेको भएर होला ।”
त्यस्तै नातिनी, मिस नेपाल शृङ्खला खतिवडा “प्यारो हजुरबुबा” शीर्षकमा लेख्छिन्, “साना-साना कुरामा रमाउन सक्ने अद्भुत प्रतिभा उहाँमा छ । यही लकडाउनको बेलामा हामीले एकदिन पानीपुरी बनाएर खुवाएका थियौँ । उहाँ यति मख्ख पर्नु भयो कि म बयान गर्न सक्दिनँ ।”
पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो । २ सय ८८ पृष्ठमा फैलिएको हार्डकभर पुस्तकको मूल्य ८ सय रुपियाँ रहेको छ ।
३. भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु – डा. बलराम कायस्थ
भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. बलराम कायस्थको अनुसन्धानमूलक कृति हो, “भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु” । पुस्तकमा भक्तपुर दरबार क्षेत्र, टौमढीमढी चोक, दत्तात्रय चोक, चाँगुनारायण मन्दिर, डोलेश्वर महादेव मन्दिर, गणेश महिमा र सूर्यविनायक गणेश मन्दिर, अनन्तलिङ्गेश्वर महादेव मन्दिर मण्डपगिरि (महामण्डप) र मध्यपुर थिमीको विभिन्न पक्षको अध्ययन र खोज-अनुसन्धान गरिएको छ ।
“भक्तपुर जिल्लाभरिका महत्वपूणर् पुरातात्विक सम्पदाहरुको विस्तृत अभिलेखीकरणको रुपमा प्रस्तुत यस पुस्तकले यस विधामा लागेका एवं रुचि राख्ने सबैलाई हर्षित बनाएको छ ।” पुस्तकको भूमिकामा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम लेख्छन्, “यस प्रकाशनबाट प्राचीन इतिहास, संस्कृति तथा पुरातत्त्व विषयमा रुचि राख्ने तथा अध्ययन अनुसन्धान गर्नेहरुका लागि एउटा गतिलो आधारको रुपमा सहयोग गर्ने छ भन्ने मलाई विश्वास लागेको छ ।”
यसअघि, “मध्यकालीन भक्तपुर”, “अंशुवर्माः श्री सामन्तदेखि महाराजधिराजसम्म” र “नेवार समाजको इतिहास र संस्कृति” गरी तीन अनुसन्धानमूलक कृति तथा “प्राचीन तथा मध्यकालीन नेपालको इतिहास” र “भारतको आधुनिक इतिहास” गरी दुई पाठ्यपुस्तकका कृतिहरु प्रकाशित छन् ।
पुस्तकलाई पल्लव प्रकाशनले प्रकाशित गरेको हो । १ सय ३४ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।
४. बोध, सृजना र सम्पादन – बद्रीप्रसाद ढकाल
बद्रीप्रसाद ढकालको गैरआख्यान विधाको नवीनतम् कृति हो, “बोध, सृजना र सम्पादन” । ढकालले पुस्तकलाई “बोध र लेखनकला”, “साहित्यको विधागत स्वरुप” र “सम्पादन र प्रकाशन” गरी तीन खण्डमा प्रस्तुत गरेका छन् । पहिलो खण्डमा अभिव्यक्ति र लेखन कलाको चर्चा गरिएको छ भने दोस्रो खण्डमा साहित्यका विविन्न विधाको स्वरुपका बारेमा चर्चा गरिएको छ । त्यस्तै, तेस्रो खण्डमा अखबारीया तथा पुस्तक सम्पादन र सम्पादकका बारेमा महत्त्वपूणर् चर्चा गरिएको छ ।
“यो पुस्तकको अध्ययनले सर्वप्रथम लेखकको माझिएको भाषासँग परिचित गराउँछ । सुललित शैली देखाउँछ ।”, पुस्तकको शुभकामनाका केही शब्दमा प्राडा. गोविन्दराज भट्टराई लेख्छन्, “लेखकले संस्कृत साहित्यको वा भनौँ साहित्य सिद्धान्तको गम्भीर अध्ययनबाटै नेपाली धराने थाङ्ग्रो बनाइएको हो । तसर्थ सिर्जनाकलाका कतिपय आद्य सिद्धान्तहरु कालातीत छन् । संस्कृत साहित्यको अध्ययनले शिक्षित र प्रभावित यस कृतिका लेखक श्री बद्रीप्रसाद ढकालले ती ग्रन्थ र शास्त्रदेखि उठान गरेका छन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ५० पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।
५. पीडा अवतार – गोवद्र्धन पूजा
अमेरिका निवासी गावद्र्धन पूजाको कवितासङ्ग्रह हो, “पीडा अवतार” । वि.स. २०५७ सालमा पहिलोपटक प्रकाशनमा आएको यो कृतिको दोस्रो संस्करण हालै रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
“यो सङ्ग्रहमा जति कविताहरु छन् ती सबै विताहरुको स्वादमा एकरसता छैन । केही मात्रामा बहुरसता छ ।”, पुस्तकको मन्तव्यमा प्राडा. दुर्गाप्रसाद भण्डारी भन्छन्, “गोवद्र्धन पूजा आफ्नो हृदयप्रति इमानदार देखिन्छन् । उनका यी काव्यात्मक अभिव्यक्तिहरुमा स्वाङ, कृृतिमता र पाखण्डताको अभाव पाइरहेको छु । यही अर्थमा मैले इमानदार भन्न खोजेको हुँ ।
अनेसासका वरिष्ठ उपाध्यक्षसमेत रहेका पूजाको यो कृतिमा ५२ थान कविताहरु सङ्ग्रहित छन् । १५२ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।