काठमाडौं / अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारी २०७८ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । २०७८ फागुन २५ का दिन एक समारोह आयोजना गरी कपिलवस्तुस्थित सिद्धार्थ स्मारक विद्यालयमा बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो ।

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो—
१० शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको हो ।

२० आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार लुम्बिनी प्रदेशस्थित कपिलवस्तु जिल्लाको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।

३० पत्रकारिताको माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पु¥याउने पत्रकारहरूमध्ये कान्तिपुर दैनिकमा कार्यरत पत्रकार विद्या राईलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

अन्तरर्दृष्टि पुरस्कार समितिका सदस्य सुनिता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा पुरस्कृत शिक्षक रोमहर्ष पन्थिले यो पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्न र सिकाइलाई समावेशी तथा प्रभावकारी बनाउन थप हौसला दिएको बताउनुभयो ।

त्यसैगरी आफ्ना दृष्टिविहीन साथीसँग सिकाइको आदान–प्रदान र घुलमिल गरेका आधारमा अन्तर्दृष्टि हातेमालो पुरस्कार पाउँदा आफूलाई अति खुसी लागेको र भाग्यशाली ठानेको विद्यार्थी ममता भट्टराईले बताउनुभयो ।

पत्रकार विद्या राईले अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारले आफूलाई अपांगता भएका, समाजमा उपेक्षित तथा पछाडि पारिएका समुदायका विषयमा लेख्न थप जिम्मेवारी बढेको बताउनुभयो । विद्यालयका प्राचार्य डिलाराम पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशवकुमार श्रेष्ठले दृष्टिविहीन विद्यार्थीको स्रोत कक्षाका लागि नगरपालिकाका तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । पुरस्कार स्थापनाको उद्देश्यमाथि अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले प्रकाश पार्नुभएको थियो । समितिका सदस्य सरिता लामिछानेले प्रयत्न नेपाल नामक संस्थाका तर्फबाट विद्यालयलाई दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक ब्रेल कागज, स्लेट स्टाइलसलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो ।

अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र यदाकदा पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा। कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपन्चमीका दिन प्रदान गरिने भए पनि कोभिड १९ का कारण यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारी वितरण गरिएको अन्तर्दृष्टि पुरस्कार समितिले जनाएको छ ।