अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तराष्ट्रीय नारी दिवस विशेष काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

गुञ्जन साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार डा.बेञ्जु शर्मा, विशेष अतिथी डा. रामप्रसाद दाहालको, अतिथि प्राज्ञ लक्ष्मी माली, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडी र सदस्य र गुन्जनका सदस्य तथा नारी कवि तथा साहित्यकारको उल्लेखनीय उपस्थितिमा बालुवाटार स्थित नेपाल हाउसमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले आयोजकको तर्फबाट सम्पूर्ण उपस्थित सर्जकहरुलाई स्वागत गर्नुभएको थियो ।

मन्तव्यका क्रममा बोल्दै अनेसास नेपाल च्यप्टरकी अध्यक्ष सन्ध्या पहाडीले नारी हकहित विरुद्धमा अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक बनाउने दिनको रुपमा चित्रित गरिनुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो ।

नारी दिवस महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको ११२ वर्ष भइसक्यो ।

आज समाजमा नारी मात्र पीडित छैनन् पुरुषहरु पनि पीडामा बाँच्न विवश छन् भन्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला ओलीले समग्रमा मानवीय हक अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा थाहा मिडिया ग्रुपकी प्रमुख अस्मिता सुमार्गी सहित ४० जना स्रष्टाहरूले नारीका विविध विषयमा आफ्ना रचना वाचन गरी कार्यक्रममा रौनकता प्रदान गर्नु भएको थियो ।

आजको २१औं शताब्दीमा कोही कसैले कसैमाथि पनि दमन अपमान र तिरस्कार गरिनु हुँदैन । नारी पुरुष दुवेले सहअस्तित्वमा जोड दिँदै समझदारीपूर्ण रुपमा अधिकार पालना गरिनु पर्ने आजको आवश्यकता हो भन्दै कार्यक्रमको समापन गरिएको थियो ।