काठमाडौँ, फागुन २६ / १४ वर्षयता नियमित रुपमा कला साहित्यका क्षेत्रका साधकहरुलाई प्रदान गरिएको राष्ट्रिय कलाश्री सम्मान विभिन्न साधकहरुलाई दिने घोषणा गरिएको छ ।
विशिष्ट साहित्यसाधक परशु प्रधान, मञ्जु काँचुली, केशव दिग्देल, धीरेन्द्र प्रेमर्षि, ओम केसी तथा शिव परियारलाई विविध सम्मान प्रदान गर्ने घोषणा गरिएको छ ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठानले प्रधानलाई राष्ट्रिय कलाश्री सम्मान २०७८, मञ्जु काँचुलीलाई रु. १,००,०००।— राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार—२०७८, अनुवादक केशव सिग्देललाई रु. ७५,०००।— राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार—२०७८, साहित्यिक पत्रकार धीरेन्द्र प्रेमर्षिलाई रु. ५०,०००।— राशिसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार—२०७८, ललितकलाका साधक एवम् मूर्तिकार ओम के.सी.लाई रु. ६०,०००।— राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७८ र नेपाली साङ्गीतिक जगत्का सङ्घर्षशील एवम् लोकप्रिय चर्चित अनुहार शिव परियारलाई रु. ५०,०००।— राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७८ प्रदान गर्ने निर्णय गरिएको हो ।
सो निर्णय हालै प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो । सो सम्मान तथा पुरस्कार अगामी यही चैत्र महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने जनाइएको छ ।
यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान र रामेशलाई प्रदान गरिसकिएको छ भने राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक र अशेष मल्ललाई प्रदान गरिएको थियो ।
विगत १० वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा र ठाकुर बेलवासेलाई प्रदान गरिएको थियो । यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, पूmलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे र लक्ष्मी उप्रेतीले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री र २०७७मा विधाता के.सी.ले प्राप्त गरिसकेका छन् । त्यस्तै विगत दुई वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार क्रमशः शिशिर योगी र मिलन नेवारलाई प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।