आँचल साहित्य कलापुञ्जले हेटौंडामा दुई दिने साहित्य महोत्सव समापन गरेको छ ।

मकवानपुरका महिला साहित्यकारहरूको संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते बृहत् साहित्य महोत्सव आयोजना गरिएको हो ।

हेटौंडामा पहिलो पटक देशभरका साहित्यकारलाई निम्त्याएर आँचलले साहित्य महोत्सवको गरेको संस्थाकी अध्यक्ष अनिता न्यौपानेले बताउनुभयो ।

साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तुमाथि बहस, अन्तरक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनको विश्वास राखेको छ ।

महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण मानिने र साहित्यलाई अझ परिष्कृत र बलियो बनाउनका लागि पनि महोत्सव महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो । हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको उक्त महोत्सवको फागुन २० उद्घाटन र २१ गते समापन गरिएको थियो ।

महोत्सवमा ‘साहित्यमा राजनीति’, ‘समकालीन कविताको मार्ग चित्र’ र ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहस तथा रचना वाचन, साङ्गीतिक कार्यक्रम, पुस्तक र कला प्रदर्शनीको कार्यक्रम थियो ।

महोत्सव अन्तर्गत ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भूपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहनु भएको थियो भने यसको सहजकर्ता ठाकुर बेल्बासे हुनुहुन्थ्यो ।

त्यसैगरी पर्यटकीय स्थल गुम्बाडाँडामा हुने ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा भने तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनालले सहजीकरण गर्नुभएको थियो ।

यस्तै ‘समकालीन कविताको मार्ग चित्र’ विषयमाथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहनु भएको थियो । यसको सहजीकरण कवि निमेष निखिलले गर्नुभएको थियो ।

‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयको कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

कविता, मुक्तक, गजलको वाचानले कार्यक्रमलाई काव्यमय बनाएको थियो ।