काठमाडौं / कवि तथा लेखक रुपक अलंकारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ ।

शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गर्नु भएको हो ।

फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याउनु भएको हो ।

सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताउनुभयो । कला कृतिको कोटिमा यो महाकाव्य अब्बल रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले महाकाव्यमाथि समीक्षात्मक टिप्पणी गर्दै भने, ‘विश्रान्त’ महाकाव्यको काव्यिक र ध्वान्यात्मक हिसाबले पनि उत्कृष्ट रहेको छ ।

डा. ज्ञवालीले महाकाव्यको विषयवस्तुबारे मुख्य पात्रले भोगेको जीवनचरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, ‘समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह–अवरोहमार्फत समाजको चित्रण गरेको छ ।’

उहाँले अहिले लेखकहरू साहित्य र समाजका लागि नभई आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भीर आरोप लगाउनुभयो ।

यसैबीच अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गर्नुभयो ।

यस्तै, समालोचक महेश पौड्यालले सुदूर गाउँबाट अवसरका लागि काठमाडौँ आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताउनुभयो ।

नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा अक्सर उसमा नैराश्य पैदा भई कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको प्रष्ट्याउनुभयो । समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो, पौड्यालले भन्नुभयो ।

पछिल्लो समयमा आएका महाकाव्यभन्दा यस महाकाव्यमा फरकपन रहेको उहाँले बताउनुभयो । यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरेको छु । पौड्यालले भन्नुभयो, ‘यस्तो भन्दै गर्दा कृति त्रृटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जवाफको खोजी भने गरेको छैन ।’

अर्का लेखक तथा समालोचक शैलेन्द्र अधिकारीले विश्रान्त महाकाव्यले वर्तमान नेपाली राजनीतिको विसङ्गत पक्षलाई उजागर गरेको कुरा व्यक्त गर्नुभयो । राजनीतिक परिवर्तन भए पनि जनताको आकांक्षा भने पूरा हुन नसकेको विषय महाकाव्यको विषय बनेर आएको कुरा पनि उहाँले बताउनुभयो ।

उहाँले महाकाव्यको महत्त्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाइ हुन्छ । जसले गर्दा हामीले महाकाव्यको महत्त्वलाई बढोत्तरी गर्न सकेका छैनौं, अधिकारीले भन्नुभयो, ‘महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु ।

महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ७५ राखिएको छ ।