साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चर्चित गीतकार थापाको निधन

चर्चित गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ । ८३ वर्षे गीतकार थापालाई बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । उपचार गराउँदा गराउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

थापाका ताराका काँचा रङ (कविता संग्रह) र रूझेका परेला (गीत संग्रह) प्रकाशित छ ।

स्कुल पढ्दादेखि नै उनले साहित्य लेखनी थालेका थिए । उनले आफ्ना मामा रेमन्तबहादुर कार्कीलाई लेखनीको प्रमुख प्रेरणा दिने व्यक्तिका रूपमा सम्झने गरेका थिए ।

bahulako diary small and inside post

घरमा हुने सांगीतिक कार्यक्रममा उनी तबला बजाउने र गाउने गर्थे । उनको पहिलो प्रकाशित रचना मन पर्छ त्यो रात हो । यो रचना पटना विश्वविद्यालय अध्ययन गर्दाताका त्यहाँको स्मारिकामा प्रकाशन भएको थियो ।

उनको शुरूवाती साहित्य नाम आरएस मधुर थियो । पछि रूपरेखा पत्रिकाका सम्पादकले जनकनाथ प्याकुरेलले कविता प्रकाशन गर्दा वास्तविक नाम नै प्रकाशन गरिदिन थालेपछि भने आफ्नो साहित्यिक नाम त्याग गरेका थिए ।

गोरेटो त्यो गाउँको, जाग लम्क चम्क हे नौजवान हो, हे कान्छा ठट्टैमा वैंश जान लाग्यो, घुम्तीमा नआऊ है, त्यो खोलाको सङ्लो पानी, स्वर्गकी रानी लगायतका कयौँ हिट गीतका लेखक रत्नशमशेर थापा विक्रम संवत् २०१० को दशकमै मुक्तकलाई चर्चित बनाउने पुस्तामध्येका हुन् ।

थापाले २०६९ सालमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गरेका छन् । देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, भूपी काव्य पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्य पुरस्कार, म्युजिक नेपाल सम्मान, ग्राम सेवा पुस्तकालय सम्मान, श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष सम्मान, गोरखा दक्षिण बाहु लगायत प्राप्त गरेका छन् भने विभिन्न रेडियोले लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरेका छन् ।

प्रतिक्रिया
Loading...