काठमाडौँ, फागुन १४ / साहित्यकारहरु बैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा उनीहरुलाई वडा कार्यालयको आयोजना र मुक्तक सागरको सहआयोजनामा संयुक्त रुपमा अभिनन्दन गरिएको हो ।
वडामा बसेर साहित्यको माध्यमबाट राष्ट्रको हित गरेको भन्दै उनीहरुलाई कदरपत्र, दोसल्ला, माला र नगद ५० हजारले पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरुलाई अभिनन्दन गर्नुभयो । अभिनन्दित स्रष्टाहरुको बारेमा साहित्यकार दुबसु क्षेत्रीले विस्तृत परिचय गराउनु भएको थियो ।
वडा नं. ४ का वडाध्यक्ष मोहनबहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रमको विशेष अतिथिमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, अतिथिहरुमा सोही वडाका बासिन्दा प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, साहित्यकार कृष्ण धराबासीलगायत रहनु भएको थियो ।
मुक्तक सागर मासिक पत्रिकाकी सम्पादक निशा केसीको संयोजकत्वमा भएको सो कार्यक्रममा वडा नं. ४ मा स्थायी बसोबास गर्ने अधिकांश स्रष्टाहरुलाई समेटिएको थियो । कार्यक्रममा दर्जनौं साहित्यकारहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर पोखरेलले जनप्रतिनिधिले विकास निर्माण र राजनीतिका मात्रै काम गर्ने गरेको उल्लेख गर्दै यो वडाले स्रष्टा सम्मान गरेर उदाहरणीय काम गरेको बताउनुभयो । राजनीतिले मान्छेलाई विभाजन पनि गर्ने उल्लेख गर्दै, भाषा, साहित्य, संस्कृति र कलाले मान्छेलाई जोड्ने उहाँले बताउनुभयो । स्रष्टा सम्मान कार्यक्रमले वडाबासी स्रष्टामा परिचय स्थापित गर्न सहयोग पुग्ने भन्दै उहाँले जनतामा सकारात्मक सन्देश जाने पनि उल्लेख गर्नुभयो । उहाँले अभिनन्दित स्रष्टाहरुसँगको सामिप्यताको संस्मरण पनि गर्नुभयो । कार्यक्रममा ‘जीवन र मृत्यु’ शीर्षकको कवितासमेत वाचन गरेर सुनाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि तथा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रम सबै वडाहरुले गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तो कार्यक्रमले वडाबासी स्रष्टाहरुको सम्मान मात्रै नभएर जनता र जनप्रतिनिधिलाई जोड्ने पनि बताउनुभये । साहित्यकारहरु नयाँ विचारको सर्जक भएको भन्दै मेयर शाक्यले महानगरपालिका र वडालाई उचित सल्लाह, सुझाव र योजना दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले आफू पनि यही वडाको बासिन्दा भएकोले वडाले गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । वडाले स्तुत्य काम गरेको भन्दै राजनीतिले मात्रै समाजको रुपान्तरण नगर्ने उहाँको भनाइ थियो । कला र साहित्यको विकास गर्न सके मात्रै समाज रुपान्तरणले सही मानेमा गति लिने उहाँको भनाइ थियो । यो कार्यक्रम सबै वडामा र अन्य पालिकाहरुका लागि पनि उदाहरणीय भएको बताउँदै उहाँले साहित्यकारहरुलाई जनप्रतिनिधिहरुले सम्झिनु राम्रो कुरा भएको बताउनुभयो भने आयोजक र सहआयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सम्मान ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै साहित्यकार गीता केशरीले आफ्नै वडामा सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । महानगरले साहित्यको प्रवद्र्धन र विकासमा पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई वडा सदस्य ध्रुव त्रिपाठीले स्वागत गर्नुभएको थियो भने साहित्यकार कृष्ण धराबासीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । यसैगरी कार्यक्रममा सम्मानित स्रष्टाको तर्फबाट साहित्यकार तथा प्राज्ञ ज्ञानु पाण्डेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागी, अभिनन्दित व्यक्तित्वहरु, आयोजक, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सहभागीहरु र सहयोगीहरुलाई कार्यक्रम संयोजक निशा केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, विजयध्वज थापा, शैलेन्द्र कुमार शाह र रुद्र अधिकारीले मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।