पोखरा, फागुन ७ / पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४५ औं शृङ्खला सम्पन्न भयो ।

‘भ्यालेन्टाइन्स डे’को छेको पारेर फागुन महिनाको पहिलो शनिबार, पोखरेली युवा साँस्कृतिक परिवार पोखराले समता काव्य सन्ध्याको आफ्नो नियमित शृङ्खलालाई बिशेष “प्रेमिल” शृङ्खलाका रुपमा सम्पन्न गरेको छ ।

काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि बिम्व कवि रमेश श्रेष्ठले “मानव जीवनमा प्रेम उमेर पनि उमेर अनुसार गरेको बताए । सानो उमेरमा चक्लेटसँग प्रेम गरियो । पछि जागीरसँग, अहिले परिवारसँग प्रेम गरिरहेको बताए ।”

कार्यक्रमका अर्का अतिथि लेखक झलक सुवेदीले कवितामा आज प्रेमका भाव धेरै सुनिए तर कविले सामाजिक मुद्दामा पनि कलम चलाउनु पर्नेमा जोड दिए ।

काव्य सन्ध्याको ३४५ औँ शृङ्खलामा १० कविले १/१ थान प्रेम/प्रणयपरक कविता वाचन गरेका थिए । कार्यक्रममा १० कविका रुपमा कविहरू लिली अधिकारी, आरती सिग्देल, मनिषा पौडेल, अम्बिका भण्डारी, सञ्जिव पौडेल, शरण आँसु, शिव त्रिपाठी, जीवन सागर भण्डारी, सरस्वती श्रेष्ठ सरू र डा ईश्वरमणि अधिकारी रहेका थिए । सह–सचिव शिव त्रिपाठीले स्वागत गरेका थिए । परिवारका अध्यक्ष मोति भुजेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सन्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् ।