विराटनगर / विराटनगरस्थित आरोहण गुरुकुलको काव्यरोहणअन्तर्गत आठौं शृंखलामा कवि सुमन पोखरेल प्रस्तुत भएका छन् ।

आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा कवि पोखरेलले विभिन्न शीर्षकका डेढ दर्जन कविता प्रस्तुत गरे । उनले ‘!’, ‘आकाशबाट’, ‘भोकाएको मन’, ‘जहाँ शून्यताले आकार बुन्छ’, ‘दुवै निद्रा आइपर्दा’, ‘हरेक बिहान’, ‘नदी बोक्ने गाउँमा’ ‘आर्यघाटमा केही लेखिरहेको छैन’, ‘खोरम्पा’, ‘रुख’ शीर्षकका कविता सुनाए । त्यस्तै कवि पोखरेलले ‘कविता फुरिरहेको छैन’, ‘तिमी जसरी छ्यौ’, ‘क्षितिजको रङ्ग’, ‘विदा हुँदाहुँदै’, ‘कमैया बस्तीमा’, ‘रहर’, ‘वर्षातमा बुद्धको मूर्ति सामु’, ‘हाटमा उभिएर’, ‘कार्यालय’, ‘यो सहर कसको हो ?’, स्वभक्षणको हक’, सपना नदेखूँ’, ‘व्यस्तता’ र ‘मसँग एउटा जिन्दगी छ’ लगायतका शीर्षकका कविता प्रस्तुत गरे ।

उनले ‘बिदा हुन्न’ शीर्षकको कविता वाचन गरेर कार्यक्रमको बिट मारेका थिए । पोखरेलका ‘शून्य मुटुको धड्कनभित्र’ र ‘जीवनको छेउबाट’ दुईवटा कवितासंग्रह, ‘हजार आँखा यी आँखामा’ र ‘मलाई जिन्दगी नै दुख्दछ’ दुईवटा गीतसंग्रह र ‘सौन्दर्य संगीत’ गजलसंग्रह प्रकाशित छन् । यसबाहेक कवि पोखरेलले सम्पादन गरेका पुस्तक पनि प्रकाशित छन् । यसअघि आरोहण गुरुकुलको काव्यरोहणमा वरिष्ठ कवि बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्मा प्रस्तुत भइसकेका छन् ।