डा. तुलसी भट्टराई

वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईलाई एकलाख रूपैयाँको पुरस्कार प्रदान गरिने भएको छ । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँको ‘मनिराज वाङ्मय पुरस्कार २०७७’ उहाँलाई प्रदान गरिने भएको हो ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले प्रदान गर्ने उक्त पुरस्कार कोभिड संक्रमण न्यून भएसँगै प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले जनाउनु भयो ।

२०७३ सालमा स्थापना भएको सो पुरस्कार यसअघि राष्ट्रकवि माधव घिमिरे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिसकिएको छ ।

प्रजातान्त्रिक आन्दोलनमा बीपी र कृष्णप्रसाद भट्टराईसँगै रहेर लामो समय काम गर्नुभएका डा. भट्टराईका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका कथा, कविता, उपन्यास, समालोचना, संस्मरणका साथै भाषाका कृति प्रकाशित छन् ।

डा. भट्टराई साझा प्रकाशनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव र नेपाली लेखक संघका पूर्व अध्यक्षसमेत रहिसक्नु भएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठानका अध्यक्ष जोशीले बताउनुभयो ।

मनिराज जोशीले कैलालीको धनगढीमा रहेर नेपाली साहित्य तथा ज्योतिष विधामा सक्रिय हुनुहुन्छ । उहाँ महाकाव्यकार मात्र नभई नेपाली साहित्यको उत्थान र श्रीवृद्धिमा योगदान गर्नुभएका व्यक्तित्व हुनुहुन्छ ।