कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति ‘जियरा’लाई प्रदान गर्ने भएको छ । ५० हजार रूपैयाँ राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरू मध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो ।

आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकका दुःख, पीडा र भोगाइलाई उद्घाटित गर्न सफल कथाहरू ‘जियरा’मा समेटिएको छन् ।

यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा. डा. राजाराम सुवेदीलाई प्रदान गरिने बताइएको छ । पुरस्कार तथा सम्मान घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक शाहले भन्नुभयो, ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्त्वका बहुमूल्य कृतिहरूको श्रृजनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाउनु भएकोमा नेपाली इतिहासका दीर्घ साधक इतिहासकार प्राध्यापक डा. राजाराम सुवेदीज्यूलाई अर्पण गर्ने निर्णय गरेका छौ ।’

यसका साथै संस्थाले स्थापना गरेको २५ हजार रूपैयाँ राशिको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरुलाई देशभर चिनाउन सफल कलाकार, २०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा २५ पटक राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक, बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका नृत्यहरूका निर्देशक, कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ ।

‘कर्णाली साहित्य समाजबाट सम्पादित यी कार्यहरू हाम्रा लागि मात्र नभई सिंगो कर्णाली प्रदेशका लागि पनि गौरवको विषय हो भन्ने हामीले ठानेका छौ,’ संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले भन्नुभयो ।

आगामी चैत्रमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कारहरू प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी गराउनु भयो ।

कर्णाली साहित्य समाज स्थापना भएसँगै नेपाली साहित्यको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । कर्णाली साहित्य समाज नेपाली भाषा, साहित्य र कलाको संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यका साथ स्थापना भएको साहित्यिक संस्था हो ।

‘नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा योगदान दिनुहुने अग्रजको सम्मान बिना उदीयमान साहित्यकारहरूलाई प्रेरणा प्राप्त हुन सक्दैन भन्ने कुरालाई हामीले राम्रोसँग बुझेका छौँ । भाषाको संरक्षण बिना साहित्य र कलाको जगेर्ना गर्न सकिँदैन र साहित्य र कलाको जगेर्ना बिना संस्कृतिक पहिचान जोगाउन नसकिने भएकाले हामी भाषा, साहित्य र कलाको संरक्षण र सम्वर्द्धनका लागि जुटिरहेका हौँ,’ पत्रकार सम्मेलनमा प्रेषित प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि महेश थापाद्वारा लिखित ‘मरीचिका’ कथा संग्रह र ललित विष्टद्वारा लिखित ‘मोहपथ’लाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशि), कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशि), चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई साथै कर्णाली साहित्य समाज साधना सम्मान (ताम्रपत्रसहित) कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका दर्शनौँ कृतिका लेखक शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकेको छ ।