‘छाइल’ उपन्यासको आवरण सार्बजनिक गर्दै प्रकाशक पवन शाक्य, उपन्यासकार लोकराज भट्ट र सम्पादक राजकुमार बानियाँ

सुदूरपश्चिमको सुवास मगमगाउने उपन्यास ‘छाइल’ फागुनदेखि बजारमा आउने भएको छ । डोटीका युवा कवि लोकराज भट्टले लेखेको उपन्यासलाई बुक्स हिमालयले प्रकाशन गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रकाशक पवन शाक्य, उपन्यासकार लोकराज भट्ट र सम्पादक राजकुमार बानियाँले आवरण लोकापर्ण गरेका छन्।

छाइल सुदूरपश्चिम प्रदेशको प्रतिनिधिमुलक उपन्यास बन्ने विश्वास गरिएको छ।

‘जीवनमा धेरै किताब सम्पादन गरें। पढ्दा आनन्द आएका थोरै किताब मध्ये छाइल एक हो’, सम्पादक बानियाँले भने, ‘यसमा वास्तविक अर्गानिक स्वाद छ।’

युवा पुस्ताले पढ्नै पर्ने उपन्यासका रुपमा छाइल आउन लागेको उनले बताए। ‘कथा युनिक छ। मिठो भाषा शैली र नविन परिवेशले तानिरहन्छ’, उनले भने, ‘पढ्न सुरु गरेपछि नसकी छोड्न मन लाग्दैन।’

डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले ‘छाइल’ नेपाली साहित्यमा कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे।

‘सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्’, विवशले भने, ‘यस उपन्यासलाई काव्याख्यान भन्न सकिन्छ।’

उपन्यासमा अनाम गाउँका एक युवाको सपना र सङ्घर्षको हृदय पगाल्ने कथा छ। जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ। सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जितु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्।

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ।

डोटीको केआई सिंह गाउँपालिका, वायलमा जन्मेका भट्टको पहिलो आख्यान पुस्तक हो, ‘छाइल’। अत्यन्त उत्साही र जाँगरिला युवा लेखक भट्टको आख्यान—आगमन आशाप्रद छ।

छाइल ‘बुक्स हिमालय’को पहिलो उपन्यास हो । यसलाई फागुनको दोस्रो साता बजारमा ल्याउने तयारी गरिएको छ।

पर्यटनकर्ममा दुई दशक भन्दा लामो समयदेखि कार्यरत पवन शाक्यको समूहले पहिलो लकडाउनका बेला स्थापना गरेको बुक्स हिमालयले हालसम्म बाल साहित्यका १ दजर्न पुस्तक प्रकाशन गरिसकेको छ भने किशोर साहित्यका दुई ओटा। साथै नियात्रा, जीवनी र निबन्धका पुस्तक पनि धमाधम प्रकाशन गर्दैछ।